जापानी लगानीकर्तालाई काठमाडौँ, भक्तपुर र पोखरामा पाँचतारे होटल खोल्न अनुमति
३ असोज, काठमाडाैँ । सरकारले जापान क्लब इन्टरनेशनलाई मुलुकका तीन स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको मंगलबारको बैठकले जापानी लगानीकर्तालाई काठमाडौँको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
कूल रु १३ अर्ब ९० करोड लागतमा ती होटल स्थापना गर्ने, पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डलाई निर्देशनसमेत दिएको छ । जापानको प्रतिष्ठित होटल समूहका रुपमा रहेको जापान क्लब इन्टरनेशनलले नेपालमा लामो समयदेखि होटल स्थापना गर्ने प्रस्ताव गरेको थियो ।
सोही प्रस्तावअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । बैठकले औद्योगिक प्रवद्र्धन, लगानीको अभिवृद्धि तथा पूर्वाधार निर्माणलाई ध्यान दिएर प्रारम्भिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ ।
भौतिक पूर्वाधार निर्माणको सम्बन्धमा रहेको जटिलतालाई समाधानका लागि प्रवद्र्धक एवम् सरकारको समेत संयुक्त लगानी रहने गरी पूर्वाधारको विकास गर्ने अवधारणा अगाडि सारिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
ठूला आयोजनाको प्रस्ताव गरिने तर सडक, पुल, भौतिक पूर्वाधार तथा प्रसारण लाइनको समस्याका कारण आयोजना महँगो हुने र त्यसका लागि देशकै खर्च बढ्ने भएकाले अवधारणा तय गर्नका लागि बोर्डलाई आवश्यक तयारी गर्न बैठकले निर्देशन दिएको छ ।
उक्त अवधारणा तयार गरी मन्त्रिपरिषद्बाट स्वीकृत गरी लागू गरिने भएको छ । पूर्वाधार लगानीका सम्बन्धमा सरकार र प्रवद्र्धकले संयुक्त लगानी गर्ने र लागत बाँडफाँड गर्ने गरी प्रस्ताव गरिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीको भनाइ छ ।
प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार ०६:३८