राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा
११ मंसिर, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ । शुक्रवार बसेको बैंक सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विज्ञ समूह र उप–समितिको संयुक्त बैठकले पुस १६ गते शनिवार एकाइगत रुपमा गर्ने निर्णय भएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताए ।
साधारण सभा सात वटै प्रदेशहरूमा सहकारी संघ /संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा एकै दिन सम्बन्धित प्रदेशहरुमा गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिए। गत वर्षको साधारण सभा सातै प्रदेशहरूमा फरक–फरक दिनमा गरेका थियौ, यो पटक नयाँ अभ्यासका रुपमा एकै दिन गर्न लागेकोले धेरै भन्दा धेरै प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरेका छौ अध्यक्ष उप्रेतीले भने ।
बिहान भर्चुअल रुपमा साधारणसभाको शुरुवात गर्ने, प्रदेश स्तरीय एकाई सभामा उपस्थित सम्बन्धित प्रदेशका प्रतिनिधिहरुले प्रस्तावहरु पारित गरेपछि निर्वाचन कार्यक्रम अगाडि बढाइने अध्यक्ष उप्रेतीले जानकारी दिए । प्रदेश नं. १ को बिरानगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा साधारणसभा गरिने भएको छ ।
साधारण सभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा (केन्द्रीय) पुस १८ गते काठमाडौँमा गर्ने निर्णय भएको छ ।
सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन सहितको साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७८/०८७९ को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले बताए ।
उनका अनुसार साधारण सभामा लाभांश वितरण, विभिन्न कार्यविधिहरू संशोधन, विनियम संशोधन, कार्यसूचीमा थप भएका प्रस्ताव, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, नियमनकारी निकायको निर्देशनको जानकारी र साधारण सभाको एकाइ बैठकको निर्णय प्रमाणित गर्ने प्रतिनिधि तथा साधारण सभा (केन्द्र) को निर्णय प्रमाणित गर्ने एकाइ प्रतिनिधिहरूको छनौट गर्ने लगायतका विषय रहेका छन् ।
साधारण सभामा २०७९ मङ्सिर ८ गते सम्म सदस्यता लिएका १५ हजार ७ सय २६ सदस्य सहकारी संघ/संस्थाका एक एक जना प्रतिनिधिहरुले मात्र सहभागिता जनाउन पाउने छन् । साधारण सभामा सदस्य संघ/संस्थाहरुको अधिकतम सहभागिताको अपेक्षा गर्दै साधारण सभामा उपस्थित प्रतिनिधिहरूले दिने सल्लाह/सुझाव बैंकको वार्षिक गतिविधि तथा कार्यसम्पादनमा मार्ग दर्शनको रूपमा रहने भएकोले प्रदेश अन्तर्गतका एकाइ बैठकहरूमा सक्रिय उपस्थित भई सल्लाह/सुझाव सहित साधारण सभालाई पूर्ण सफल बनाउनको लागि सम्बन्धित सहकारी संघ/संस्था तथा सरोकारवाला निकायहरूलाई समेत बैंकले अनुरोध गरेको छ ।
प्रकाशित मिति : November 27, 2022 at 1:25 pm









