२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

कपिलवस्तुलाई पूर्वाधार विकासमा अब्बल बनाउने प्रतिबद्धता

१ मंसिर, कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेदवार बलराम अधिकारीले जनताले आफूलाई जिताएमा कपिलवस्तुलाई पूर्वाधार विकासमा अब्बल बनाउने बताएका छन् । निर्वाचनका क्रममा आम नागरिकको घरदैलोमा पुग्दै जनताका कुरा सुन्दै गर्नुभएका अधिकारीले जनभावना अनुसार अगाडि बढेको बताएका हुन् ।

उनले अगाडि भने– जनताले जनजीविकामा परिवर्तन र विकास खोजेका छन् , त्यो पूरा गर्ने सङ्कल्प गरेको छु । पूर्वाधार विकासका क्रममा जिल्लाको चाकरचौडा पकडी क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने, शिवलवादेखि सोहसासम्मको सडक बिस्तार गर्ने, चाकडचौडादेखि पिपरासम्मको सडक विस्तार गर्ने जनाए ।

त्यस्तैगरी जीतपुर चारनम्बर बैरिया, पिपरा र बोडगाउँबाट अर्घाखाँचीको सिमलपानी जोड्ने सडक निर्माण पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । मायादेवी , शुद्धोधन , वाणगंगा र कपिलवस्तु नगरपालिकाका बौद्ध सम्पदा जोडेर वुद्धपरिक्रमा पथ सङ्घीय स्तरको योजनाबाट अघि बढाइने छ । भलवाड र देउवापार क्षेत्रलाई औद्योगिक ग्रामको रुपमा विकास गर्ने, बनगाई , मोतिपुर, जिनुवा डोहोटे खण्डमा पर्ने कोइली खोलामा पुल निर्माण र अधुरा सडक पूरा गर्ने जनाइएको छ ।

त्यस्तैगरी कोइली बनगाई, बैदौली, कोपवा, देउवापार, हथौसा, बरवा, सोनपुर, वीरपुर हुँदै रुपन्देही जिल्ला जोड्ने अधुरा सडक खण्डको विस्तारलाई पूर्णता दिने, गजेहडा तीनकुनेदेखि गंगौली, राजापानी हुँदै बालापुर जोड्ने सडक स्तरउन्नति गरिने छ । बनकट्टी, भेलरहिया, वहादुरपुर, वीरपुर, मिलन चोक, नौगइया, भुसडी लबनी सडक बिस्तार गरिने छ ।

ओदारीदेखि भड्डीहवा, प्रगतिनगर, मेचकुरी, पटना, मिलनचोक हुँदै लुम्बिनी जाने सडक स्तरउन्नति हुने छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज अधिकारीले पहिला संविधान सभाको निर्वाचनमा जितेर संविधान बनाएर आएको र अब आसन्न निर्वाचनमा संघीय सांसदमा जितेपछि विकास लिएर आउने प्रतिवद्धता व्यक्त गरे ।

अधिकारीले एमाले नेतृत्वको सरकार हुंदा विकास निर्माणका काम गरेको र बाहिर हुँदा प्रतिपक्षको भूमिका कुशलतापूर्वक पूरा गरेको बताए । उनले सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या सधैका लागि समाधान गर्न आफ्नो विशेष पहल रहने बताए । नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार बिष्णु पन्थीले गएको पाँच बर्षको समय आफूले कपिलवस्तुको विकास र निर्माण र जनताका समस्या समाधानमा विताएको बताए ।

प्रकाशित मिति : November 17, 2022 at 1:45 pm