८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

तीन महिनामा विदेशी मुद्राको सञ्चिति २.५ प्रतिशतले बढ्यो


३० कार्तिक, काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० को तीन महिनामा विदेशी मुद्राको सञ्चिति बढेको छ । याे अवधिमा मुद्रा सञ्चिति २.५ प्रतिशतले बढेको हाे । नेपाल राष्ट्र बैंकले बुधबार तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

२०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा रु.१२४६ अर्ब २२ करोड पुगेको छ ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १८:०२