भक्तपुरमा एमालेले गरेको विकास देखेर गठबन्धनका दलमा ‘लुतो’ लागेको छः नेता बस्नेत
३० कार्तिक, भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले जिल्लामा एमालेको नेतृत्व कालमा गरेको विकास देखेर गठबन्धनका दलहरु जनताको बिचमा भोट माग्न जान समेत नसक्ने अवस्था रहेको दावी गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार प्रसारका क्रममा क्षेत्र नं. २ ‘ख’ निर्वाचन परिचालन कमिटीले आज मध्यपुर थिमी नगरपालिकाको वडा नं. ८ बोडेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले जिल्लामा एमालेले चार वर्षमा गरेको विकास र समृद्धिको ऐतिहासिक कार्यहरु देखेर गठबन्धनका दलहरुको ढाडमा लुतो आएको बताए ।
कांग्रेसले १५ वर्ष र नेपाल मजदुर किसान पार्टीले १० वर्ष भक्तपुरमा नेतृत्व गर्दा सिंहदरवारबाट नजिक रहेको जिल्लामा रहेका जनताले विकास देख्न नपाएको स्मरण गर्दै नेता बस्नेतले एमालेको नेतृत्वको करिव चार वर्ष भक्तपुरको इतिहासकै सवैभन्दा बढी भौतिक पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, ढल, वातावरण संरक्षण तथा सम्बद्र्धन, भ्रष्टाचार नियन्त्रण, शुसासनलगायतका कार्यहरु भएको बताए ।
उनले भने, ‘कांग्रेसले १५ वर्ष, नेमकिपाले १० वर्ष जनताको विकास र समृद्धिको माग, चाहना र आवश्यकतालाई वास्ता गरेन । उपत्यका भित्रकै जिल्ला भएपनि जनताले जनप्रतिनिधि भएको आभास गर्न पाएनन् । सदनमा जनताको आवाज उठेन । जनताका न्युनतम आधारभुत सेवा सुविधाहरुबाट समेत बञ्चित हुनुपरेको थियो ।

एम्बुलेन्स आउने सडक समेत नभएकाले कतिपय भक्तपुरवासी जनताले ज्यान नै गुमाउनु परेको तितो यथार्थ हाम्रो आँखामा झल्झली आउँछ । त्यस्तो पिडालाई मलम लगाउन एमालेले करिव ४ वर्षमा २६ अर्वभन्दा बढी बजेट ल्याई विकासका आधारभुत कुराहरु पुरा गरेको छ । अब एड्भान्स लेभलको विकास जनताको आवश्यकता बनेको छ ।
अब एमलोले उक्त कुराको नेतृत्व गर्छ । एमालेले भक्तपुरको चारै तर्फबाट हेर्दा विकास नै विकास भएको देख्ने गरी विकास अभियान चलायो । जनताको भावनालाई समेटेर अगाडी बढेको छ । यो सवै देखेर भक्तपुरका गठबन्धन दलका केही नेताहरुको ढाडमा लुतो लागेको छ । निर्वाचन आएको छ, जनताको बिचमा के भनेर भोट माग्न जाने ?
त्यसैले गठबनधन दलका उम्मेदवारहरुको ढाडमा लुतो लागेता पनि एमालेले गरेको विकासको डिलमा लुतो लागेको ढाड कन्याउँदै जनतालाई भ्रम पार्ने प्रयास गर्दैछन् । तर भक्तपुरका वौद्धिक जनताले त्यो कुरा बुझ्नुभएको छ । मंसिर ४ पछि जनताको लागि समेत लुतो बनेका पार्टीहरु भक्तपुरबाट विदाई हुनेछन् ।’
हाम्रोको लागि नभई राम्रोको लागि भक्तपुरमा एमालेमात्र रहेको उल्लेख गर्दै उनले मंसिर ४ को निर्वाचनमा विजयी भए पश्चात एमालेको उम्मेदवारहरु रहरलाग्दो भक्तपुर र भरलाग्दो पार्टी एमालेको रुपमा जनताको विचमा अगाडी बढ्ने प्रतिवद्धता जनाए । प्राकृतिक प्रकोप, भुकम्प, कोरोना भाइरस, हनुमन्ते नदीमा आएको बाढीलाई रोकथाम तथा नियन्त्रणलगायतका समस्यासँगै एमाले जनताको बिचमा निरन्तर आएर जनताको समस्यालाई आफ्नै समस्याको रुपमा लिई जनताको सेवा गरेको स्मरण गर्दै उनले ‘जहाँ समस्या, त्यहाँ एमाले’ भन्ने जनताको मन मुटुमा रहेको उल्लेख गरे ।
उक्त समस्याग्रस्त समयमा एमालेको विरुद्ध अहिले उम्मेदवारहरु कहाँ थिए ? भनि प्रश्न गरे। एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सम्पदा झल्कने, आधुनिकता टल्कने अभियान चलाएको उल्लेख गर्दै उनले आधुनिकता टल्कने नेतृत्व महेश बस्नेतले गरेको र सम्पदा झल्कने प्रकारको नेतृत्व पूर्व मेयर मदनसुन्दर श्रेष्ठले गरेको बताए ।
कांग्रेसले बेचेका सार्वजनिक जग्गाहरु फिर्ता ल्याउने अभियानमा एमालेले महत्वपूर्ण जिम्मेवारी गरिरहेको उल्लेख गर्दै उनले भक्तपुरको कला संस्कृति र परम्परालाई जोगाउन एमालेको साथ र सहयोग निरन्तर रहिरहेको बताए । जनताले विकास हेर्न चाहेको उल्लेख गर्दै नेता बस्नेतले जनताले लगाएको ‘गुनको बदला गुन, नुनको बदला नुन’ नै दिने बताए ।
व्यक्तिगत समस्यामा समेत एमाले जनताको साथमा रहेको उल्लेख गर्दै उनले थोत्रा मुद्धाहरु लिएर गठबन्धनका दलहरु जनताको विचमा ठग्ने, झुक्याउने र भ्रममा पार्ने तरिकाले आएकाले राष्ट्रवादी भक्तपुरका जनताले सचेत भएर मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार गोविन्द दुलाल, एमाले बागमती प्रदेश कमिटी सदस्य मदन सुन्दर श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष बचन देउजा, क्षेत्र नं. २ ‘ख’ प्रदेशसभाका एमाले उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, समानुपातिक उम्मेदवार शकुन्तला श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराई, एमाले बागमती प्रदेश सदस्य शशी जंग थापा, अखिल नेपाल महिला संघ भक्तपुरको अध्यक्ष उत्तरा नेपाललगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : November 16, 2022 at 10:51 am









