ललितपुर–१ः पाँचबर्षमा गरेका काम नै एमालेको उम्मेदवारको जित्ने आधार
३० कार्तिक, ललितपुर । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदातका लागि केही दिन मात्रै बाँकी हुँदा ललितपुरको क्षेत्र नम्वर १ एमालेमय बनेको छ । एमालेका निर्वाचन केन्द्रित कार्यक्रममा भव्य जनसहभागिता भइरहेको छ भने ललितपुरका सबै क्षेत्रमा दैनिक पार्टी प्रवेशको लहर चलेकोे छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली मंगलबार एकाएक यस क्षेत्रमा पर्ने गोदावरीको छम्पीमा जनताको घरदैलोमा एमाले उम्मेदवारहरूलाई मत माग्न पुगेपछि ललितपुर क्षेत्र नं. १ मा एमालेको पक्षमा चुनावी उभार आएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज सिलवाल, प्रदेशसभा सदस्य उम्मेदवार १(१) मा मधुसुधन पौडेल र १(२) मा चेतनाथ सञ्जेल छन् ।
सिलवाल र सञ्जेल गत निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित सांसद थिए । उनस्हरुले संसद्मा विगत पाँच वर्षमा यहाँका जनप्रतिनिधि भएर सशक्तरुपमा उठाउनुभएको आवाज, नीति निर्माणमा देखाउनुभएको सक्रियता र विकास निर्माणका काम यहाँका नागरिकले नजिकबाट नियालेका छन् ।

नागरिकमाझ इमान्दार नेताका रुपमा स्थापित पौडेल यस क्षेत्रका मतदातामा लोकप्रिय छन् । भूगोलका हिसाबले दुर्गम र क्षेत्रफलका हिसाबले जिल्लामा सबैभन्दा ठूलो क्षेत्रका रुपमा क्षेत्र नम्वर १ रहेको छ । उम्मेदवारहरुले आ–आफ्नो घोषणापत्रमा र नागरिकको घर–घरमा पुगेर आफू विजयी हुँदा पूर्वाधार निर्माणमा ध्यान दिने र सामाजिक सुधार गर्ने र सांस्कृतिक संरक्षण गर्ने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिलवालले विद्यार्थीको रुपमा आफूले पाँच वर्ष संसदरुपी विश्वविद्यालयमा पढेको र अहिले निर्वाचनमार्फत जाँच दिन लागेको बताए । हिजो विद्यार्थी भएर संसद छिरेको र अब प्रोफेसर भएर जाने उनले बताए । यो पाँच वर्षमा आफूले संसदमा जनताका सरोकारका विषय, जनजीविकाका विषय, क्षेत्रीय सम्बन्ध, राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारका विषय उठाउनुका साथै ललितपुरका जनताका आवाज बोलेको बताए।
उनले भने–‘मैले विगत पाँच वर्षमा गरेको काम नै मैले जित्ने आधार हो ।’ प्रदेशसभामा १(१) का उम्मेदवार मधुसुधन पौडेलले आफू उम्मेदवार भएको क्षेत्रमा नगर र ग्रमीण क्षेत्र दुबै रहेको र त्यहाँका आवश्यकता फरक फरक रहेकाले सोहीअनुसार काम गर्नुपर्ने बताउनुभयो । आफू विजयी भएर महाङ्काल र कोञ्जेसोम क्षेत्रमा सडक, पानी, विद्यालय व्यवस्थित गर्न लाग्ने र नगर क्षेत्रमा बस्ती व्यवस्थित र आधुनिक बनाउन लाग्ने उहाँको प्रतिबद्धता छ ।
प्रदेशसभामा ललितपुर १(२) का उम्मेदवार चेतनाथ सञ्जेलले आफ्नो पहलमा गत पाँच वर्षमा धेरै विकासका पूर्वाधार बन्न शुरु भएको बताए । त्यसलाई सम्पन्न गर्नेसँगै यस क्षेत्रमा नयाँ–नयाँ योजना ल्याउन लाग्ने उहाँको प्रतिबद्धता छ ।
प्रकाशित मिति : November 16, 2022 at 10:36 am









