६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

लाभांश प्रस्ताव पारित गर्न २ बैंकले बाेलाए वार्षिक साधारण सभा

२९ कार्तिक, काठमाडाैं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले आफ्नो वार्षिक साधारण सभा बोलाएका छन् । दुवै बैंकले मर्जर प्रस्ताव र लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २३ गते शुक्रबार साधारण सभा बोलाएका हुन् ।

ग्लोबल आइएमई बैंकले १६ औँ वार्षिक साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे बोलाएको छ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंक अफ काठमाण्डू (बीओके)ले आफ्नो २८ औँ वार्षिक साधारणसभा मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडाैंकाे टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

दुबैं बैंकको सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र स्वीकृत गर्ने, मर्जर सम्बन्धी अन्य आवश्यक कार्य पुरा गरी अन्तिम स्वीकृती प्रदान गर्ने, १ बराबर १ को सेयर स्वाप रेसियो स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको छ । दुवै बैंकको असार २ गतेदेखि सेयर कारोबार रोक्का भएको हो । हाल ग्लोबल आइएमईको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १०:४१