५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिर्ने इम्पेरियल सेक्युरिटिज सम्मानित
१ मंसिर, काठमाडाैँ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा ५० करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा नेपालको पुँजीबजारमा अग्रणी धितोपत्र दलाल (स्टक ब्रोकर) कम्पनीका रूपमा परिचित इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ४५) सम्मानित भएको छ।
‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने प्रमुख नारासहित आयोजित राष्ट्रिय कर दिवस समारोहमा इम्पेरियल सेक्युरिटिजलाई सम्मान गरिएको हो। समारोहमा कम्पनीका प्रमुख सञ्चालन अधिकृत सीताराम अधिकारीले अर्थमन्त्री स्वर्णिम वाग्लेबाट सम्मानपत्र ग्रहण गरे।
करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न विधामा उत्कृष्ट करदाता तथा बढी कर तिर्ने व्यवसायिक प्रतिष्ठानलाई सम्मान गर्दै आएको छ। यसै क्रममा ५० करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीतर्फ आयकरमा उत्कृष्ट योगदान पुर्याएको भन्दै इम्पेरियल सेक्युरिटिजलाई सम्मान गरिएको हो।
इम्पेरियल सेक्युरिटिज नेपालको पूँजी बजारमा लामो समयदेखि शेयर ब्रोकरका रूपमा सञ्चालनमा रहेको कम्पनी हो । कम्पनीले पूँजी बजारको कारोबारसँगै राज्यलाई करमार्फत योगदान पुर्याउँदै आएको छ। कम्पनीले आधुनिक प्रविधिमैत्री सेवासहित देशव्यापी सञ्जाल विस्तारलाई तीव्रता दिएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट इजाजत प्राप्त तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सदस्यता लिएको यस कम्पनीले सन् २०१२ देखि निरन्तर रूपमा आम लगानीकर्ताहरूलाई भरपर्दो, पारदर्शी र सुरक्षित शेयर कारोबार सेवा प्रदान गर्दै आएको छ।
काठमाडौँको अनामनगर (हनुमानस्थान) मा केन्द्रीय कार्यालय रहेको इम्पेरियल सेक्युरिटिजले काठमाडौँ उपत्यकाबाहिरका सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई समेत पुँजीबजारको मूल प्रवाहमा जोड्ने उद्देश्यले आफ्ना शाखा कार्यालयहरू विस्तार गरेको छ ।
इम्पेरियलकोको हाल भक्तपुरको सूर्यविनायक, धादिङको नीलकण्ठ, कास्कीको पोखरा (राष्ट्रबैंक चोक), बाँकेको नेपालगन्ज (धम्बोझी चोक) र सुर्खेतको वीरेन्द्रनगर (जुम्ला रोड) बाट शाखा कार्यालयमार्फत प्रत्यक्ष तथा छिटोछरितो सेवा दिइरहेको छ।
पुँजीबजारमा दुई दशकभन्दा लामो अनुभव सँगालेका वित्त विज्ञ एवं अध्यक्ष तथा प्रबन्ध निर्देशक भक्तिराम घिमिरे र प्रमुख सञ्चालन अधिकृत (सीओओ) सीताराम अधिकारीको कुशल नेतृत्वमा कम्पनीले खुद्रा (रिटेल) लगानीकर्ताकेन्द्रित व्यावसायिक मोडल अपनाएको छ।
नेप्सेको अनलाइन कारोबार प्रणाली (टीएमएस) मार्फत वास्तविक समयको बजार तथ्याङ्क तथा छिटोछरितो शेयर खरिद-बिक्री आदेश कार्यान्वयन गर्ने सुविधा कम्पनीले उपलब्ध गराएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को निक्षेप सदस्य (डीपी) समेत रहेको यस कम्पनीले हितग्राही (डिम्याट) खाता सञ्चालन, मेरो शेयर नवीकरण, भौतिक शेयर प्रमाणपत्रको अभौतिकीकरण, राफसाफ तथा धितोपत्र संरक्षण (कस्टोडियल) सेवा एउटै छानामुनिबाट दिँदै आएको छ।

बजारमा लगानीकर्ताको क्रयशक्ति बढाउन र दोस्रो बजारको कारोबारलाई चलायमान बनाउन कम्पनीले मार्जिन ट्रेडिङ (मार्जिन कर्जा) सुविधालाई समेत प्रभावकारी रूपमा अघि बढाएको छ । न्यूनतम १ महिनादेखि १२ महिनासम्मको अवधिका लागि वार्षिक ६.९५ प्रतिशतदेखि ७.९५ प्रतिशतसम्मको प्रतिस्पर्धी ब्याजदरमा मार्जिन कर्जा प्रवाह गर्दै आएको छ ।
विवरण अनुसार पछिल्लो ९० दिनको नेप्से फ्लोरसिटमा १३ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिद कारोबार गर्दै शीर्ष ब्रोकरहरूमध्ये आफ्नो बलियो उपस्थिति कायम राखेको छ । प्रभावकारी ग्राहक सेवा, नियमित केवाईसी अद्यावधिक, सहज राफसाफ प्रणाली र आधुनिक प्रविधिको उच्चतम प्रयोगका कारण इम्पेरियल सेक्युरिटिज आम लगानीकर्ताको पहिलो रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ।
प्रकाशित मिति : November 17, 2026 at 1:14 pm












