१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

पार्टीको कारबाहीमा पत्रकारः प्रभात चलाउने, जन्मदेव जैशीसहित पाँच जना नेकपाबाट निकालिए

२९ भदाै, काठमाडाैँ । पार्टी र संगठन चौतर्फी घेराबन्दीमा रहेका बेला पार्टी र संगठनलाई कमजोर पार्ने गरी पार्टी र संगठनको हित बिपरित काम गरेको भन्दै नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीको नेतृत्वमा रहेका पांच जना पत्रकारलाई पार्टीबाट निष्काशन गरेको छ l नेकपाले कारवाही गरी पार्टीबाट निष्काशन गरेका पत्रकारहरुमा पार्टीको क्षेत्रीय ब्युरो सदस्य प्रभात चलाउने, जिल्ला समिति सदस्यहरु जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल र सुदिप बर्देवा रहेका छन् l

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज सुर्दशनले भदौ २८ गते बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती पांच जना पत्रकारलाई कारबाही गरिएको कुरा सार्वजनिक गरेका छन् । उनीहरुलाई नेकपाले पार्टीबाट अनिश्चितकालका लागि निस्कासन गरेको प्राप्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।

पार्टीबाट निष्कासित चलाउने क्रान्तिकारी पत्रकार संगठनका संस्थापक अध्यक्ष हुन् भने उनी सोही संगठनको माध्यमबाट नेपालका पत्रकारहरुको साझा संगठन भनिएको नेपाल पत्रकार संगठनको निवर्तमान केन्द्रिय कार्यसमितिमा सचिव निर्वाचित भै काम गरिसकेका कार्यकर्ता हुन् l उनी जनयुद्ध कालिन कार्यकर्ता समेत हुन् l उनलाई पार्टीले क्रान्तिकारी पत्रकार संगठनको जिम्मेवारीबाट हटाएर मानव अधिकारको क्षेत्रमा काम गर्न खटाएको थियो l उनी पार्टीको केन्द्रिय सदस्य पदका दाबेदार मानिन्थे l

पार्टीबाट निष्काशित जैसी, बुढा, भुसाल र बर्देवा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य रहेका छन् l जन्मदेव जैसी नेपाल पत्रकार महासंघको केन्द्रिय समितिमा क्रान्तिकारी पत्रकार संगठनको तर्फबाट निर्वाचित सदस्य हुन् l त्यस्तै कमल बुढा ‘इमान्दार’ युद्धकालिन कार्यकर्ता हुन् l क्रान्तिकारी पत्रकार संगठनको नगरकोटमा बैशाख १५ र १६ गते सम्पन्न रास्ट्रीय सम्मेलनले निर्वाचित गरेका ४८ जना केन्द्रिय समिति सदस्यहरुबाट पार्टीले प्रकाश डुम्रेलाई अध्यक्ष बनाएर पदाधिकारी चयन गरेपछि क्रान्तिकारी पत्रकार संगठनभित्र विवाद सृजना भएको थियो l

पार्टीले क्रान्तिकारी पत्रकार संगठन बारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेपछि त्यसकाविरुद्ध कमल बुढा ‘इमान्दार’, जन्मदेब जैसी, बाबुराम भुसाल, सुदिप वर्देवा लगायतका समुहले रास्ट्रीय सम्मेलनबाट निर्वाचित ४८ जनामध्ये ४० जना केन्द्रिय सदस्य आफ्नो पक्षमा रहेको र क्रान्तिकारी पत्रकार संगठन फुटेको भन्दै समाचार सार्वजनिक गरेका थिए भने त्यो समूह पार्टीद्वारा आधिकारिक भनी सार्वजनिक गरिएको प्रकाश डुम्रेको समितिका पदाधिकारीका बिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको थियो l

हालै मात्र नेकपा निकट सम्पूर्ण जनवर्गीय संगठन, मोर्चा र विभागको इन्चार्जको जिम्मेवारी लिएका नेता सुदर्शनले विज्ञप्तिमार्फत पार्टी निर्णय विरुद्ध अराजकता मच्चाएको, महत्वपूर्ण सुचनाहरु बाहिर चुहाएको, पार्टी र नेतृत्वका विरुद्ध सामाजिक संजालमा भ्रामक समाचार दिएको र जिम्मेवार ब्यक्तिमाथि हातपात गरेकोले उनीहरुलाई कारबाही गरिएको स्पस्ट पारेका छन् ।

यस अघि क्रान्तिकारी पत्रकार संगठनका नाममा केही ब्यक्तिहरुले सामाजिक संजालमा भ्रम सिर्जना गर्नेखालको विज्ञप्ति सार्वजनिक गरेको भन्दै नेकपाका केन्द्रीय कार्यालय सचिव धु्रवले एक विज्ञप्ति जारी गरी प्रकास डुम्रेको नेतृत्वमा गोलबन्द हुन आफु निकट सबै पत्रकारहरुलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : September 14, 2018 at 1:44 pm