मतदातालाई कमलको अपिलः तपाईं भोट बदल्नुहोस्, हामी ब्यवस्था बदल्छौँ
४ कात्तिक, दाङ । दाङको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले मतदाताले भोट बदले आफूहरूले व्यवस्था बदल्ने बताएका छन । चुनावी अभियानमा रहेका सुवेदीले दैनिकीसँग कुरा गर्दै आफूले जनताले भोट बदलेर जिम्मेवारी दिए व्यवस्था नै बदल्ने बताएका हुन ।
युवाको क्षेत्रमा डेढ दशकदेखि काम गर्दै आएका सुवेदीले नदी सफा गर्न मुहानबाटै सफा गर्नुपर्छ भन्ने मान्यता अनुरुप प्रदुषित राजनीतिलाई शुद्धिकरण गर्न म राजनीतिमा आएको बताए । उनले दैनिकीसँग भने, ‘म जहिल्यै समाज रुपान्तरणको सारथी भएँ । अन्याय अत्याचारको विरुद्ध निरन्तर लेख्दै बोल्दै आएँ । अभाव र असमानतामा बाँचेको हाम्रो समाजलाई केही मलमपट्टी लगाउने काम गरेँ । समाज सेवा मार्फत जनताको सुख दुःखको सारथी भएँ र अब राजनीतिमार्फत जनताकै सेवामा समर्पित हुन चाहन्छु । नदी सफा गर्न मुहानबाटै सफा गर्नुपर्छ भन्ने मान्यता अनुरुप प्रदुषित राजनीतिलाई शुद्धिकरण गर्न म राजनीतिमा आएको हुँ।’
उनले राजनीतिक दलले व्यवस्था फेरे पनि जनताको अवस्थामा भने कुनै परिवतर्न ल्याउन नसकेको बताए । उनले भने, ‘लाखौँ जनताको परिश्रम, रगत र पसिनाले ल्याएको लोकतान्त्रिक गणतन्त्रबाट सिमित व्यक्ति पक्कै लाभान्वित भए तर आम नागरिकको अवस्था भने झनझन गरिबीको अन्धकारतिर धकेलिदै गयो । धनी झन धनी र गरिब झन गरिब हुने स्थिति आयो । राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण मौलाउदै गयो । देशमा कुनै अवसर नपाएर युवा विदेशीन बाध्य भए । हिजोसम्म मतदातासँग छनौटको कुनै विकल्प थिएन तर आज त्यो विकल्प छ ।’
सुवेदीले देशभरबाट भिजन भएका नेतृत्व गर्न सक्ने सक्षम जागरुक युवा पुस्ता राजनीतिमा होमिएको बताए । उनले युवा उम्मेदवारलाई एक पटक अवसर दिएर देशको अवस्था परिवर्तनमा योगदान दिनुको अब अर्को विकल्प नरहेको बताए । उनले भने, ‘दशकौँदेखि हाम्रो भावना र अपेक्षालाई आश्वासनको चारो छरेर हाम्रो मताधिकारको धज्जि उडाएकाहरूलाई अब भने मतदाताको शक्ति प्रदर्शन गर्ने उपयुक्त समय आएको छ । त्यसैले अबको प्रतिनिधि सभालाई सक्षम र इमान्दारहरूको सभा बनाउन हरेक जनताले योगदान दिनु जरुरी छ। वर्षौँदेखि उही दल र नेतालाई विश्वास गरेर सास्ति भोकेका हामीले यो पटक नयाँ र सक्षमलाई अवसर दिएर नयाँ इतिहास कोर्नुपर्नेछ । तपाईं भोट बदल्नुहोस्, हामी ब्यवस्था बदल्छौँ ।’
सुवेदीले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारी र पूर्वाधार विकासमा प्राथामिकता दिने बताए । उनले कुनैपनि प्रणाली सुधार गर्न सक्षम र इमान्दार व्यक्ति सो प्रणालीको हिस्सा हुनैपपर्ने भएकाले त्यसकै हिस्सा बन्न आफ्नो उम्मेद्वारी रहेको बताए ।
प्रकाशित मिति : 14:13









