३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

दानबहादुर कार्कीको रिट न्यायाधीश श्रीकान्त पाैडेलको इजलासमा

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडौँ । नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा बुधबार प्रारम्भिक सुनुवाइ हुँदैछ । न्यायाधीश श्रीकान्त पाैडेलको इजसालमा रिटको सुनुवाइ हुने गरी तोकिएको छ ।

सरकारले आफूलाई अन्यायपूर्वक प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा खटाएको दाबी गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन् । मन्त्रिपरिषद्ले गत कात्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमाथिको पहिलो सुनुवाइ सर्वोच्चमा केहीबेरमा हुँदैछ ।

यसैबीच, कार्कीले आफ्नै मुद्दामा अनुकूल आदेश गराउन बिचौलियामार्फत सर्वोच्च अदालतमा ‘सेटिङ’ गर्न खोजेको आरोप लागेको छ । दियोपोस्टले प्रकाशित गरेको समाचारमा कार्कीले क्यासिनो व्यवसायसँग जोडिएका तप्तबहादुर विष्ट र सुरेन्द्र सिंहमार्फत सर्वोच्चका न्यायाधीशसँग सम्पर्क र मोलतोलको प्रयास गरेको दाबी गरिएको छ ।

दियो पोस्टको समाचारअनुसार कार्की मंगलबार दिनभर विष्ट र सिंहसँगै  रहेका थिए । समाचारमा विष्टले सर्वोच्चका केही न्यायाधीशसँग आफूले कुरा मिलाउन सक्ने भन्दै कार्कीको मुद्दामा अनुकूल इजलास गठनका लागि पहल गर्ने आश्वासन दिएको उल्लेख छ ।

त्यस्तै, कार्कीको पछिल्लो समय पूर्वडीएसपी रमेशबहादुर सिंहको बुढानीलकण्ठस्थित निवासमा विष्ट र सुरेन्द्र सिंहसँग नियमित भेटघाट तथा ‘सेटिङ’ हुने गरेको दाबी पनि समाचारमा गरिएको छ । विष्ट र सिंह कार्की प्रहरी महानिरीक्षक रहँदा नक्सालस्थित उनको सरकारी निवासमा समेत नियमित आउजाउ गर्ने व्यक्ति भएको समाचारको दाबी छ ।

समाचारमा कार्कीले सर्वोच्च अदालतका केही न्यायाधीशलाई दबाब तथा ब्ल्याकमेलिङ गरेको आरोपसमेत लगाइएको छ । न्यायाधीशसँग सम्बन्धित भनिएको केही सामग्रीलाई आधार बनाएर आफ्नो मुद्दामा सहयोग गर्न दबाब दिएको दाबी समाचारमा गरिएको छ ।

यद्यपि, दियो पोस्टमा प्रकाशित यी आरोपहरूको स्वतन्त्र पुष्टि भएको छैन । कार्कीको पक्षबाट पनि यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

सरकारले भने कार्कीलाई हटाइएको नभई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाइएको बताउँदै आएको छ । कार्कीले भने उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

कार्कीको कार्यसम्पादन कमजोर मात्र देखिएको थिएन प्रहरी संगठन नै लथालिंग हुन पुगेको थियो । उनले संसदीय समितिमा उपस्थित भएर सांसदहरूकोसँग अन्तरक्रियामा आफूले पनि देखाइदिन सक्ने चेतावनी दिएका थिए ।

सोही अनुसार उनको संलग्नतामा खगेन्द्र सुनार अर्को एक महिलाको कुराकानी भनिएको एउटा अडियो संवाद बाहिर आएको बताइएको थियो । प्रहरीमा मिलापत्र भैसकेको मुद्दासँग जोडिएको अडियो अर्को तेस्रो व्यक्तिको संलग्नतामा बाहिर आएको भिडियो समेत बाहिरिएको थियो ।

उक्त भिडियोमा आफूले करोडौँ रूपमा लिएर अडियो बाहिर ल्याउन भूमिका खेलेको भन्दै किरण नेपालीले कुराकानी गरेको प्रमाण नै सामाजिक सञ्जालमा छरपस्ट भएको थियो । यद्यपी त्यता तर्फ सरकारले कुनै चासो दिएको छैन । प्रहरीले पनि त्यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

त्यस्तै प्रधानमन्त्रीका सचिवालयका एक जना सदस्य प्रहरी कार्यालयमा पुगेर इनम सापकोटाको मुद्दाको विषयमा चासो लिइरहेको भिडियो पनि केही मिडियामा कार्कीले नै उपलब्ध गराएको आरोप लागेको छ ।

यता गत २१ फागुन २०८२ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी (म्यादी प्रहरी) को पोशाक तथा बन्दोबस्ती सामग्री खरिदमा ६० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन तीव्र बनाएको छ ।

अख्तियारले ठेकेदारसहित कार्की र कार्कीको श्रीमति समेतसँग वयान लिएको बुझिएको छ । कार्की प्रहरी प्रमुख रहेकै समयमा उनीसँग अख्तियारले सोधपुछ गरेको थियो । कार्कीको श्रीमति नविना कार्की खत्रीसँग अायोगले वयान लिएको स्रोतले बताएको छ ।

अख्तियारले ठेकेदार राजमान मिश्र र नेपाल दूरसञ्चार कम्पनीका कर्मचारी टोपेन्द्र बीसीलगायतसँग पुनः वयान गरेको समाचारहरू समेत यही बीचमा सार्वजनिक भएका छन । सरकारले नेपाल प्रहरीका १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीका १५ हजार ११० जना निर्वाचन प्रहरीको पोशाक र बन्दोबस्तीका लागि करिब १ अर्ब रुपैयाँ निकासा गरेको थियो ।

बजार मूल्यभन्दा महँगो दर देखाएर करिब ४० करोड रुपैयाँ बराबरको मात्र कमसल सामग्री खरिद गरी बाँकी ६० करोड रुपैयाँ हिनामिना गरिएको उजुरी अख्तियार र संसद्को सार्वजनिक लेखा समितिमा परेको थियो । संसदीय समितिले पनि यस विषयमा छुट्टै अनुसन्धान गरिरहेको छ ।

उजुरीपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गत १६ असोज २०८३ मा सांसद मनिष झाको संयोजकत्वमा ९ सदस्यीय छानबिन उपसमिति गठन गरी करिब १ लाख ४५ हजार सुरक्षाकर्मीको बैंकिङ कारोबार तथा खरिद कागजातको अध्ययन गरिरहेको छ।

स्रोतका अनुसार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा लैजाने तयारी तीब्र बनाएको छ । अख्तियारको गतिका बारेमा बाहिर आएका समाचारहरू पुष्टि हुने अवस्थामा उनको सर्वोच्चमा रिटको सुनुवाइ र विशेष अदालतमा भ्रष्टाचार मुद्दा सँगसँगै हुने सम्भावना रहेको छ । त्यसो भएमा कार्की विशेष बढुवा भएको पदबाट समेत स्वतः निलम्बित हुनेछन ।

प्रकाशित मिति : November 18, 2026 at 10:15 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/