दूरसञ्चार सेवा प्रदायकले सरकारलाई १० दिनभित्र ९ कुराको लिखित जवाफ दिनुपर्ने
२ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा दस्तुर (टीएससी) सँग सम्बन्धित आवश्यक कागजातसहितको विवरण १० कार्यदिनभित्र पेश गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।
प्राधिकरणले पहिलोपटक सूचना प्रकाशित गर्दै दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति प्राप्त गरी सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकहरूलाई यस्तो निर्देशन दिएको हो ।
आर्थिक ऐन, २०८३ को दफा ५ को उपदफा ५ मा रहेको व्यवस्थाअनुसार दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्राधिकरणले सेवा प्रदायकहरूसँग आर्थिक वर्ष २०८२/८३ र चालु आर्थिक वर्षको असोज मसान्तसम्मको विवरण माग गरेको हो ।
प्राधिकरणले सेवा प्रदायकहरूलाई नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको दूरसञ्चार सेवा दस्तुरसँग सम्बन्धित आवश्यक कागजातसहित विवरण बुझाउन भनेको छ ।
माग गरिएको विवरणमा मासिक रूपमा इन्टरनेट बिक्रीबापतको आय, मर्मत सम्भारबापतको आय, उपकरण बिक्रीबापतको आय र अन्य आयको विवरण समावेश गर्नुपर्नेछ । त्यसैगरी, कुल आम्दानी, दाखिला गरिएको टीएससी रकम, रकम दाखिला गरेको मिति तथा तोकिएको समयभन्दा ढिलो दाखिला गरिएको भए सोबापत बुझाइएको ब्याजको विवरणसमेत पेश गर्नुपर्नेछ ।
प्राधिकरणले प्रत्येक महिनाको विवरण छुट्टाछुट्टै तयार गरी पेश गर्नुपर्ने स्पष्ट पारेको छ ।
प्राधिकरणको अनुमति व्यवस्थापन शाखाले जारी गरेको सूचनामा सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकलाई इमेलसहितका माध्यमबाट समेत जानकारी गराइएको उल्लेख छ ।
प्राधिकरणले सूचना प्रकाशित भएको मितिले १० कार्यदिनभित्र माग गरिएका विवरण तथा आवश्यक कागजात पेश गर्न सेवा प्रदायकहरूलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : November 18, 2026 at 10:04 am













