३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

प्रकाश जोशीको पीडा : बाढीले प्रियजन खोस्यो, राज्यले अन्तिम बिदाइको अधिकार पनि दिएन

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडौं । त्रिशूली बाढीमा आफन्त गुमाएका परिवारले पहिचान भइसकेका शवसमेत डिएनए परीक्षणको नाममा लामो समयसम्म हस्तान्तरण नगरिएको भन्दै राज्यको संवेदनहीनतामाथि प्रश्न उठाएका छन्।

बाढीपीडित प्रकाश जोशीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पीडा सार्वजनिक गर्दै पहिचान भइसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग माग गरेका छन्। उनले प्राकृतिक विपत्तिले प्रियजन गुमाएका परिवारलाई राज्यले अन्तिम संस्कार गर्ने अधिकारबाट समेत वञ्चित गर्न नहुने बताएका छन्।

‘बाढीले आफ्नो प्रियजन खोस्यो, राज्यले अन्तिम बिदाइको अधिकार खोस्यो,’ भन्दै जोशीले सार्वजनिक गरेको टिप्पणीमा आफन्त गुमाउनुको पीडामाथि शव हस्तान्तरणमा भइरहेको ढिलाइले थप मानसिक यातना दिएको उल्लेख गरेका छन्।

उनका अनुसार बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शव पहिचान भइसकेको अवस्थामा समेत डिएनए परीक्षणको नाममा परिवारलाई हस्तान्तरण नगरिनु उचित होइन। शवको पहिचानमा अन्योल भए वैज्ञानिक परीक्षण आवश्यक रहे पनि पर्याप्त प्रमाणका आधारमा परिवार र सम्बन्धित निकायले पहिचान गर्न सक्ने अवस्थामा अनिश्चितकालसम्म शव रोकेर राख्नुको औचित्य नरहेको उनको भनाइ छ।

‘के एउटा नागरिकले आफ्नो परिवारको सदस्यको अन्तिम संस्कार गर्न पनि राज्यको प्रयोगशालाको रिपोर्ट कुर्नुपर्ने हो ?’ उनले प्रश्न गरेका छन्।

जोशीले शव परिवारका लागि केवल मृत शरीर नभई जीवनभरको सम्बन्ध, माया, सम्झना र भावनासँग जोडिएको अन्तिम भौतिक अवशेष भएको उल्लेख गरेका छन्। आफन्तको मृत्युको पीडा सहिरहेका परिवारलाई कम्तीमा अन्तिम पटक अनुहार हेर्ने र आफ्नो धर्म तथा संस्कारअनुसार अन्तिम बिदाइ गर्ने अवसर दिनुपर्ने उनको माग छ।

DNA परीक्षणको प्रक्रिया नरोक्न आग्रह गर्दै उनले त्यसको नाममा परिवारको पीडा थप्ने काम नगर्न राज्यलाई सचेत गराएका छन्। प्रशासनिक प्रक्रिया पूरा हुन समय लाग्ने भए स्पष्ट कारण खुलाउनुपर्ने, कानुनी बाध्यता भए लिखित जानकारी दिनुपर्ने र पहिचानमा विवाद नरहेको अवस्थामा शव तत्काल हस्तान्तरण गर्नुपर्ने उनको माग छ।

जोशीले सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय मानव अधिकार आयोगको समेत ध्यानाकर्षण गराएका छन्। पहिचान भएका शव परिवारलाई बुझाउन स्पष्ट समयसीमा निर्धारण गर्नुपर्ने र अनावश्यक ढिलाइ भए त्यसको जवाफदेहिता सम्बन्धित निकायले लिनुपर्ने उनको भनाइ छ।

‘हामी न्याय मागिरहेका छौँ, दया होइन। हामी अधिकार मागिरहेका छौँ, उपकार होइन,’ उनले लेखेका छन्।

उनले बाढीपीडित परिवारको समस्या केही व्यक्तिको निजी पीडाका रूपमा मात्र नलिई नागरिकको मानवीय अधिकार र मृतकप्रतिको सम्मानसँग जोडिएको विषयका रूपमा लिन सरकारसँग आग्रह गरेका छन्।

प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत र पुनःस्थापनासँगै आफन्तको अन्तिम संस्कार गर्न पाउने मानवीय अधिकार सुनिश्चित गर्नु पनि राज्यको दायित्व भएको उनको टिप्पणी छ।

‘प्राकृतिक विपत्तिले दिएको घाउमा राज्यले नुन छर्कने काम नगरोस्,’ भन्दै जोशीले पहिचान भएका शव तत्काल परिवारलाई हस्तान्तरण गर्न माग गरेका छन्।

प्रकाशित मिति : November 18, 2026 at 10:10 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/