२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मौसमी राष्ट्रवादको ढोंग रच्ने भीम रावलहरू सामन्तवादको पक्षपोषक हुन


-सरोजकुमार तामाङ

निर्णायक मोडमा सदैव पार्टीलाई एम्बुसमा पार्ने डा भीम रावल जस्ता नेताहरूले गर्दा नै राजनीतिक कोर्षले सहि दिशा निर्देश गर्न नसकेको हो । मौसमी राष्ट्रवादको ढोंग रच्ने भिम रावलहरू वास्तवमा सामन्तवादको पक्षपोषक हुन् । यिनको राष्ट्रवाद भनेको आफू जस्तै राजनीतिक विचार र सिद्धान्तको गोत्रा मिल्ने वंशमा सिमित राष्ट्रवाद हो । त्यो सामन्तवाद चरित्र हो । त्यसैले विगतको जहाँनिया राणाशासनको राष्ट्रवाद र भीम रावल प्रवृतिको राष्ट्रवादमा समयको अन्तराल बाहेक अन्य केहीपनि फरक देखिदैन् । अर्कोतर्फ जनताको निर्णायक शक्ति नेकपा एमाले सम्पूर्ण जनताको साझा राष्ट्रियताको बिषय उठान गर्ने शक्ति हो ।

राष्ट्रियताको सवालमा हामी एमालेजनहरु फासीवादलाई स्वीकार्न सक्दैनौं भने साझा राष्ट्रियतामा वर्ग समन्वय हाम्रो उद्देश्य हैन् । हामी वर्गसंघर्षबाट वैज्ञानिक समाजवादको अधिकतम लक्ष्य प्राप्तितर्फ उन्मुख छौँ । त्यसैले नेकपा एमाले एक चुनावदेखि अर्को चुनावसम्मको यात्रालाई नलम्ब्याउने र हाम्रा आजको न्यूनतम लक्ष्य नयाँ जनवादका कार्यक्रमहरूलाई शन्तिपूर्ण तवरले जनमतको आधारमा पूरा गर्न दत्तचित्त भएर लागिरहेका छौं ।

हामीले यो बेला कसले उम्मेदवारी पायो पाएन भन्दापनि हामीले जनता सामु गरेका वाचा र उत्तरदायीहरु पूरा गर्नतर्फ अग्रसर भएका छौं कि छैनौं त्यो महत्वपूर्ण मुद्दा हो । मैले टिकट पाए समाजवाद र कम्युनिज्म तर अरुले पाए प्रतिक्रियावाद र सामन्तवाद देख्ने भीम रावलले आफ्नो सोचको चश्मा फेनु पर्ने देखिन्छ । निरंकुश राजतन्त्र बेलाको चश्माले सबैलाई देख्नु आफैंमा जडसुत्रवादी सोच हो र यो प्रगतिशील सोच पनि हैन् । हरेक घटित घटनाहरुको विकासक्रमको ब्यक्ति प्रधान भएर हैन, वस्तु प्रधान भएर ब्याख्या र विश्लेषण गरौं तबमात्र हामीले वास्तविकता र यथार्थ पत्ता लगाउन सक्छौं ।

राष्ट्रवाद कुनै लगाम लगाएको घोडा हैन् । यो त सबैको साझा मुद्दा हो । तसर्थ यसरी आजको टट्कारो र जटिल मुद्दाहरुमा विचार र सिद्धान्तले पृथक भएपनि नेकपा एमालेप्रति एकता देखाउनु त्यसले नेकपा एमालेको उचाई घट्ने हैन, बढ्ने हो । बहुदलीय खुल्लमखुला समाजमा कसैले निषेधको राजनीति गर्छ भने त्यो आफ्नो राजनीतिक सुनौलो भविष्यको चिहान आफैं खन्ने मोहनविक्रम सिंह प्रवृति हो ।

कुनैपनि राजनीतिक कोर्षमा सृजित घटनाक्रमको आधारमा आफ्ना विचार र सिद्धान्तलाई परिष्कृत गर्दै लैजानुपर्छ । त्यो भनेको वाद, प्रतिवाद हुँदै नवीनतम सोचको संवाद हो । त्यो क्रममा मात्रात्मक मात्राको विचार र चिन्तन गुणात्मकमा परिवर्तन र आवर्तन हुने हो । यसरी आफू बाहेक अरूलाई विचारको मन्थनमा समावेश गर्न नचाहने भीम रावलले आफूलाई मात्र अजम्बरी सोचको विरूवा ठान्नु गम्भीर र सुधार्न नसकिने भूल हो ।

एउटा परिवार चलाउन त बाउ, आमा, छोराछोरीबीच सहकार्य चाहिन्छ भने समाज र मुलुकको हितार्थ उभिन र परिवर्तनको तागत राख्न एक्लै भीम रावल काफी छैनन् र यस ठेक्काको टेन्डर जनताले केवल भीम रावलको हात त्र राखेको छैन् । समाज र मुलुकको परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ला तर मै हूँ भन्ने रावल प्रवृतिले अधिनायकवादको जन्म लिनेछ । हामी जनताको बहुदलीय जनवादको अनुयायी भएको हुँदा कुनैपनि खेमाको अधिनायकत्व स्वीकार्न सक्दैनौं ।

साझा धारणा र साझा हितार्थ नै आजको हाम्रो कार्यनीति हो । हाम्रो रणनीति त सर्वहारावर्ग अधिनायकत्व राज्यसत्ता प्राप्ति गर्नु हो । त्यसैले विधि र पद्धतिको मन्त्र जप्नेले कार्यनीति र रणनीतिको बारेमा ख्याल राख्दा राम्रो हुन्थ्यो कि ? प्राप्त राजनीतिक अवसरहरुको सदूपयोग र स्थायित्व गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक क्रान्तिको अर्को चरणमा प्रवेश गर्नुपर्ने बेला कसले टिकट पायो पाएन गौण बिषय मात्र हो । आज हामीले शान्तिपूर्ण तवरबाटै मुलुकको अर्थब्यवस्था समाजवाद उन्मुख भनेर संविधानमा अंकित गर्न सफल भयौं ।

अब हामीले जबजले भने झैं जनवाद ल्याउन के कति कार्यहरु पूरा गरेऔं र बाँकी कार्यहरु कसरी र कुन कार्यक्रमहरुको आधारमा पूरा गर्दै जाने हो, त्यो बिषयमा पार्टीभित्र घनीभूत हिसाबले छलफल र बहस गर्नुपर्नेमा उल्टै बिगार्ने र भत्काउने संस्कारले कहाँ पुगिएला ? विगतमा आफ्नै पार्टीको सरकार भत्काउन कम्मर कसेर लाग्नेहरुबाट दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकताको निर्मूल गर्न सकिदैन् बरु उल्टै मलजल हुने देखिन्छ ।

स्मरणरहोस् सामन्तवाद र पुँजीवाद कुनै बाहिर ग्रहबाट यो मुलुकमा प्रार्दूर्भाव हुने हैन, यो त आफैंभित्र जन्मिने हो । तसर्थ पार्टीलाई शुद्धिकरण गर्न हामी जस्ता कर्मयोगी कार्यकर्ताहरुले बारम्बार विचार र सिद्धान्तको झाडूले भीम रावल जस्तालाई बढार्दै जानुपर्छ । पुरानोको ठाउँ नयाँले लिदैँ जानुपर्छ तर हाम्रा क्रियाकलापहरुले भने मार्क्सवादी चिन्तनबाट दूरी बढाउनु हुँदैन् ।

पार्टीलाई टुक्राउने र छिन्नभिन्न बनाउने नै वास्तवमा पार्टीले दिएको अवसरहरुमा मौजमस्ती गर्दै रम्नेहरू हुन् । जब यिनीहरुको कमजोर विचारको ठाउँमा अरु नयाँ अनुहार नयाँ जोस र जाँगरकासाथ प्रवेश हुन थाल्छ तब न्वारनदेखिको बल प्रयोग गरेर भीम रावल जस्ता हैकमवादीहरू मौसमी विकासवाद र राष्ट्रवादको नाराले जनताको नताँतिएको नाक तताउन थाल्छ । त्यो बेला परिवर्तनकामी जनता विचलन हुनुहुँदैन् किनकी हामी बिचलन भयौं भने समाज अग्रगामी हैन पश्चागामी उन्मुख हुन्छ । राजनीति रंग दिन सबैलाई आउँछ तर त्यसको छनौट विवेकशील जनताले सहि ढंगले गर्नसक्नुपर्छ ।

अन्त्यमा, सार्वभौमसत्ता सम्पन्न हामी नेपाली जनताले आगामी चुनावबाट चौतर्फी विकास निर्माण लगायत राष्ट्रियताको सवालमा जनताको मन जित्न सफल नेकपा एमालेका सम्पूर्ण उम्मेदवारहरुलाई अत्याधिक बहुमतकासाथ विजय गराउँदै जबजको जगमा वैज्ञानिक समाजवादको आधार निर्माण गरौं । भोट केमा, सूर्यमा ?

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १२:२०