२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

घनश्याम भुसालः जो कामको मैदानमा लिलिपुटका हिरो झैँ देखिए


-अर्जुन पाण्डे

टिकट नपाएको झाेंकमा घनश्याम भुसालले पार्टी छाडेको कुरालाइ लिएर यो हप्ता राम्रै बहस चल्यो । खास गरि प्रारंभ देखि नै पार्टीमा उनलाइ बैचारिक नेता भनियो । त्यसो त कम्युनिष्ट पार्टीहरु विचारको आधारमा संगठित हुने र काम गर्ने भनि व्याख्या गरिएको हुन्छ । दस्ताबेजहरु तैयार हुन्छन् । पार्टी कार्यकर्ताहरुलाइ पढाइन्छ । तर आज नेपालका के कम्युनिष्ट के गैह्र कम्युनिष्ट सबै पार्टीहरुले संसदिय परिपाटी अँगालिरहेको परिपेक्षमा कम्युनिष्ट पार्टीको अलग विचार वा सिद्धान्त भन्ने खासै क्यै देखिँदैन ।

हो, संसदिय प्रणालिका केही विश्वब्यापपि मुल्य मान्यता वा प्रचलनहरु छन् । तिनैलाइ सिद्धान्त मान्ने हो भने सबै पार्टीहरुको सिद्धान्त एउटै देखिन्छ । कुनै कम्युनिष्ट पार्टीको अलग मान्यता भन्ने छैन । सबैले संसदिय चुनावमा भाग लिएकै छन्, जो संग फाइदा हुन्छ त्यो पार्टी वा व्यक्तिसंग मिलेकै छन् , सबैले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संबैधानिक मान्यतालाइ मानेकै छन् । राज्य संचालनको सवालमा पनि कसैको क्यै अन्तर छैन ।

अर्को तर्फ जनतालाइ यस्ता विचार वा सिद्धान्त भन्ने सवालसंग त्यति चासो छैन । उनिहरु चाहन्छन्ः सरकार हुनुपर्यो, जनधनको सुरक्षा हुनुपर्यो, सबैले आआफ्नो बैयत्तिक विकास गर्ने अवसर पाउनुपर्यो, भौतिक विकास हुनुपर्यो, धारामा पानी आउनु पर्यो, बाटो घाटो सहज हुनुपर्यो, अस्पतालमा डाक्टर औषधि हुनुपर्यो, कमाइ खाने वातावरण हुनुपर्यो, काम नपाउनेका निम्ति पनि व्यवस्था हुनुपर्यो । जीवन सहज चल्नु पर्यो । बस् यस्तै यस्तै ।

कम्युनिष्टहरु माक्र्सबाद, लेनिनबाद, माओबाद आदि सिद्धान्त भन्छन् तर जब सरकारमा पुग्दछन् तब उनिहरुको काम गराइमा कुनै बादको केही छायाँ देखिन्न । सबैको उस्तै छ । अझ कोही त असक्षम मात्रै होइन दगी पनि छन् । यता जनताको चाहना चाहीँ विकास हो । जनताको यो चाहनालाइ छाडेर अग्रगमन, गणतन्त्र, समाजबाद, साम्यबाद आदि शब्दावलीको बाढी लगाउनु भनेको जनताको आँखामा धुलो छर्नु हो ।

समयले भनिरहेछ अब कुनै नेताले कोरा सिद्धान्त र विचारका कुरा त्याग गर्नु पर्दछ । म त भन्छु संसदिय खेलमा सहभागी आजका कम्युनिष्टले टाउको माथी मुठ्ठी उठाउने प्रचलन पनि बन्द गर्नु पर्दछ । मुठ्ठी उठाउँदै संग्राममा होमीने युग गैसक्यो । आज त जनताका अगाडी हात जोड्नु नै श्रेयष्कर छ । अझ यो निर्वाचनको माहौलमा जनताका यि चाहनालाइ छलेर कोही नेताले म कम्युनिष्ट हुँ, म समाजबाद ल्याउँछु भन्छ भने त्यो धोखा हो । कसैले पत्याउनु हुँदैन । गर्नुपर्ने काम यकातिर पन्छाएर विचार वा सिद्धान्तका कुरा कोही गर्छ भने त्यो महाँको ठगाहा हो ।

घनश्याम भूषालको सवालमा पनि यही लागु भएको हो । उनले माक्र्सबादको व्याख्या त छाँटे, भाषण पनि मिठै गरे तर जब उनलाइ कामको जिम्मा दिइयो तब उनको क्षमता र ढंग छोप्नै नसकिने गरि उदांगो भयो । कामको मैदानमा उनी लिलिपुटका हिरो झैँ देखिए । उनी किशानका मन्त्री बनाइए तर तिनै किशानले मागेको एक बोरा मल ल्याउन सकेनन् । सिंचाइ व्यवस्था, विउ विजनको व्यवस्था गर्न सकेनन् । उल्लेख्य क्यै गर्न सकेनन् ।

बास्तवमा यो घनश्याममा मात्र होइन सबै नेताहरुमा लागु हुन्छ । आज चुनावको बातावरण छ । घरघरमा पार्टीका उम्मेदवार नेता आउँदैछन् । यतिबेला जनताले पनि आफ्ना दैन्यन्दिनका समस्याहरुमा सरकार वा उम्मेदवार नेताले विगतमा के गरे ? विगत पाँच बर्षमा कसको सरकारको पालामा के भयो ? आफ्नो शहर, गाउँ, बस्तीमा के के विाकसका काम भए ? कहिले भए ? अरु के के गर्नु आवस्यक छ ? यिनै विषयहरुलाइ केन्द्रमा राखेर उम्मेदवारसंग सवालहरु राख्नु पर्दछ र त्यसैको आधारमा आफ्नो मत दिनु पर्दछ । तब मात्र जनताको पनि दायित्व पूरा हुन्छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार ०६:४८

https://srdb.com.np/