४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपालको सुनाैलो भविष्यको बाधक अमेरिकी र भारतीय खेताला


-सरोजकुमार तामाङ

दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्सवादका तीन संघटक हुन् । दर्शनशास्त्रभित्र द्धन्दात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद रहेको छ भने द्धन्दात्मक भौतिकवादका तीन निमयहरु बिरोधीबीच एकता र अन्तरसंघर्ष, मात्रात्मकबाट गुणात्मक र निषेधको निषेध हुन् ।

ऐतिहासिक भौतिकवादमा सामाजिक सत्ता र सामाजिक चेतना, उत्पादन शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना तथा उत्पीडक र उत्पीडित वर्गहरुबीचको संघर्षबारे उल्लेख गरिएको छ । मार्क्सवादको राजनीतिक अर्थशास्त्रभित्र श्नमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्य सिद्धान्तबारे वर्णन गरिएको छ ।

वैज्ञानिक समाजवादमा वर्गसंघर्ष, इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताहरु रहेको पाइन्छ । विश्व कम्युनिष्ट आन्दोलनमा विद्यमान अवसरवाद र अराजकतावादकोबिरुद्ध भीषण वैचारिक बहस पश्चात मार्क्स र एंगेल्सले मार्क्सवादको प्रतिपादन गर्नुभयो । मानव विकासको क्रममा एक क्रान्तिकारी सिद्धान्तको जन्मसँगै प्रतिक्रियावादीहरुको निद हराम भएको थियो ।

युरोपमा त्यो बेला साम्यवादको तरंगलाई निरुत्साही बनाउन पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस लगायत पुरानो युरोपका सारा सत्ताधारी एकजुट भएका थिए । यस आधारबाट के पनि भन्न सकिन्छ भने मार्क्सवाद सर्वहारा-श्नमजीवीवर्ग र सम्पूर्ण उत्पीडित जनसमुदायहरुको मुक्तिको सिद्धान्त र प्रथप्रदर्शक हाे । मार्क्सवादलाई कुनै मुलुक विशेषको सन्दर्भमा भन्दापनि विश्व सर्वहारावर्गको मुक्तिको सार्वभौमिक अंगको रुपमा बुझ्न जरुरी हुन्छ ।

नेपालको सन्दर्भमा क्रान्तिकारी मार्क्सवादी दर्शनशास्त्रको प्रारूप २००६ साल वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी र त्यसपछिको मुलधार कम्युनिष्ट पार्टी नेकपा एमालेले जनताको बहुदलीय जनवादको माध्यमद्धारा मुलुकको राजनीति विशेषावस्थालाई मध्यनजर गर्दै बहुदलीय खुल्ला प्रतिस्पर्धाबाट आज समाजवाद उन्मुख अर्थब्यवस्था संविधानमा अंकित गर्न सफल भयो ।

विगतको विभेदकारी राज्य नीतिले गर्दा जन्मिएको विभिन्न स्वरुपको समाजमा विद्यमान वर्गसंघर्षको अन्त्य गर्दै सर्वहारावर्ग अधिनायकत्व राज्यसत्ता र साम्यवादका आधारभूत मान्यताहरुलाई थप ब्याख्या र विश्लेषण आजको प्रमुख आवश्यकता हो । नेपाली समाजको चरित्र भनेको वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका सामाजिक छुवाछूत रहेको छ । तसर्थ पुँजीवादको प्रारम्भिक चरणमा विकसित भएको मार्क्सवादले नेपालको सामाजिक परिवेशमा वर्गीय उठाउन मात्र गरेको खण्डमा त्यो अपूर्ण हुनेछ ।

सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य ब्यवस्थाले जन्माएका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य नै नेपाली कम्युनिष्टहरुको संघर्षका मुद्दाहरु हुनुपर्छ । २०४६ सालको परिवर्तनले केन्द्रीकृत र एकात्मक राज्य ब्यवस्थालाई फ्याँकेर बिकेन्द्रीकृत र बहुकात्मक ब्यवस्थाको शासनसत्ता ल्यायौं । तर, सामन्ती र निरंकुशताको केन्द्रबिन्दू भनिने राजतन्त्रलाई संवैधानिक परिधिभित्र ल्याएतापनि अप्रत्यक्षरुपले शोषण र उत्पीडनलाई जरैदेखी उखेलेर फ्याँल्न सकेनौं । त्यसका निम्ति २०५२ साल फाल्गुन १ गतेबाट भएको जनबिद्रोह र २०६२/६३ को संयुक्त जनआन्दोलनबाट त्यो सम्भव भयो ।

आज आएर हामी नेपाली जनतालाई के थाहा भयो भने सामन्ती, निरंकुश, तानाशाही राजतन्त्रले मात्र यो मुलुकलाई गरिबीको रेखामुनि बस्न बाध्य बनाएको रहेन्छ । वास्तवमा यो मुलुकको सुनौलो भाग्य र भविष्यको लागि भारतीय विस्तारवाद, वैदेशिक एकाधिकार पुँजीवाद र अमेरिकी साम्राज्यवाद मुख्य वाधक तत्व हुन । अझ बढी नेपालको विकासको बाधक अमेरिकी र भारतीय खेताला हुन । अबको लडाई यी बिरुद्ध हुनुपर्छ ।

समाज उत्पादनसँग जोडिनु पर्नेमा आज उपभोक्तामुखी भएको छ । त्यसको मूल कारण वैदेशिक एकाँधिकार पुँजीवादका बहुराष्ट्रिय कम्पनीहरुद्धारा उत्पादन गरिएका वस्तु तथा सेवाको कारणले नेपाल एक पुँजीवादी शक्तिहरुको उत्पादित बस्तु तथा सेवा बिक्री थलोको रुपमा विकसित भएको छ भने यो मुलुकको स्रोतसाधनहरू हड्पन आफू अनुकूल दलाली र गुलामी सरकारको निर्माण गर्न आन्तरिक रुपले हस्तक्षेप गरेको छ ।

नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न मुलुक भएपनि यो मुलुकको विदेश नीतिमा भारतीय हस्तक्षेप अप्रत्यक्षरुपले देखिदैँ आएको छ । तेस्रो मुलुकसँगको वैदेशिक सम्बन्धमा भारतले चाँसो राख्नुले त्यो बताउँछ । भारतले यहाँ छाँया सरकार र छाँया अर्थब्यवस्थाको परिकल्पना गर्नु नै भारतीय विस्तारवादको अर्को एक उदाहरण हो ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १५:०७