७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

रामपुरमा परम्परागत संस्कृति जोगाउने अभियान

१३ असाेज, रामपुर । गाउँमा बाजा बज्न थालेपछि दसैँ लाग्यो भन्ने आभाष हुन्थ्यो । यो परम्परा सुन्दा नयाँ पुस्तालाई अहिले अनौठो लाग्न पनि सक्छ । यो संस्कृति हिजोआज गाउँघरमा भने देख्न पाइदैन । बुढापाकाका अनुसार गाउँमा मादल, सहनाई, ट्याङ्को, झुर्मा र ढोलक बज्न थालेपछि दसैँ सुरु भयो भन्ने जनमानसमा सङ्केत गर्दथ्यो ।

बाद्यबादकसहित नौमती, पञ्चेबाजको तालमा गाउँभरी सरसफाइ गरेर दसैँलाई स्वागत गर्ने परम्परा अहिले कतै देख्न र सुन्न पाइदैन । पाल्पाको रामपुरमा भने पुरानो संस्कतिलाई यसवर्षदेखि जोगाउने अभियान सुरु भएको छ । रामपुर नगरपालिका–६ बाट दसैँमा बाजा बजाएर सरसफाइ गर्ने संस्कार थालनी भएको छ । पुरानो परम्परा गाउँमा हराउँदै जान थालेपछि अहिले युवा पुस्तालाई रीतिरिवाज, संस्कार संस्कृति सिकाउन बाजा बजाएर सरसफाइ अभियान थालनी गरिएको तालपोखरा टोल विकास समितिका अध्यक्ष थिरलाल ढकाल बताउछन् ।

“पहिला म आफैले गाउँका सबै स्थानीयवासीलाई सहभागी गराएर बाजा बजाएर सरसफाइ कार्यक्रम गराउँदथे, आठ÷नौ दिनसम्म लगातार गाउँका खाल्डाखुल्डीपुर्ने, बाटो खन्ने, झाँडी सरसफाइ गरिन्थ्यो” उनी भन्छन्,–“हिजोको संस्कार सुनाउँदा नयाँ पुस्तालाई कथा सुनाएजस्तो भयो, पूरानो रीतिरिवाज हराउन नदिन बुढ्यौली टेकेपनि लागिपरेको छु” । स्थानीय बाजागाजाको साथमा स्वागत गर्दा गाउँमा दसँैको रौनक बढेको छ । विभिन्न कामकाजमा व्यस्त रहने व्यक्तिलाई पनि दसैँ लागिसक्यो भन्ने अनुभूति दिलाएको छ ।

समाजलाई सही दिशामा अगाडि बढाउन राम्रा खालका पुरानो संस्कृति पनि अवलम्बन गर्नु आवश्यक रहेको हुँदा ती संस्कृतिले पर्वमा विशेष महत्व झल्काउने भएकाले संस्कृति संरक्षणमा वडाबाटै अभियान थालनी गरेको वडाध्यक्ष दिवाकर देवकोटाले बताए ।“राम्रा कुरा छन्, भने त्यसलाई जीवन्त राख्नुपर्छ, हाम्रा गाउँघरमा चलिआएका परम्परागत संस्कृति अहिले लोपहुदै गएको अवस्था छ” उनी भन्छन्, “नयाँ पुस्तामाझै आउँदा विशेष महत्व बोकेका कला संस्कृति नै हराउँदै जाँदा मानिसको जीवनमा केही कुराको अपूर्णता रहेको अनुभूति हुन्छ” ।

तालपोखरा युवा समूहले बाजा बजाएर सरसफाइ कार्यमा जुटेका स्थानीयवासीलाई स्वागत गरेका हुन् । विभिन्न प्रतिभा भएका व्यक्तिको बसोबास रहेको यस समाजका बालबालिका, युवा तथा ज्येष्ठ सदस्य सामूहिक रुपमा बाजा बजाएर दसैँलाई स्वागत कार्यमा जुटेको बताउछन्, तालपोखरा युवा समूहका अध्यक्ष हरि थापा । यसरी सामाजिक कार्यमा निस्कँदा आफूसँग भएका प्रतिभा बाहिर ल्याउने अवसर बनेको छ, भने अर्कोतर्फ हराउँदै गएको संस्कृति जगेर्ना गर्ने माध्यम बनेको उनको भनाइ छ ।
सो कार्यक्रममा बालबालिका, युवापुस्ता मात्रै नभइ ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिता छ । समुदायबाटै बाजा बजाएर दसैँलाई स्वागत गर्ने कार्य नौलो मान्दै नयाँ पुस्ताले सरसफाइ कार्यमा सक्रियतापूर्वक जुटेका छन् । यस्ता समाजमा चलनचल्तीमा रहेका संस्कृतिलाई अवलम्बन गर्दै निरन्तरता दिन यहाँको वडा कार्यालयले सुरु गरेको अभियानमा सहभागीले नयाँ पुस्तामा संस्कृति सिक्ने वातावरण बनेको बताएका छन् ।

वडामा रहेका ११ वटै टोल विकास समितिमार्फत सरसफाइ अभियान सुरु गरी अहिले वडाका सबै टोल बस्तीमा सरसफाइ कार्यक्रम चलिरहेको वडासचिव वासुदेव ढकाल बताउछन् । “नयाँ युगमा प्रवेश गरे पनि पुराना राम्रा चलनलाई निरन्तरता दिन बाजागाजासहित सबैलाई सकारात्मक सन्देश प्रवाह गर्न वडामा दसैँलाई स्वागतका साथ सरसफाइ अभियान थालनी गरिएको छ, पर्व अनुसार चलनचल्तीमा रहेका मौलिक संस्कृतिलाई हामी हराउन दिनुहुँदैन” उनी भन्छन् । बाजा तथा भजनकीर्तन गरेर स्वागत गरेपछि गाउँमा दसैँकाे चटारो हुन्थ्यो ।

यहाँका स्थानीयवासीले वडा कार्यालयको सहयोगमा मौलिक संस्कृतिलाई अनुशरण गरी पहिलेजसो नै बाजा बजाएर गाउँघर सरसफाइ अभियान कार्यमा सहभागी हुँदा बल्ल दसैँ आएको अनुभूति गर्छन्, स्थानीयवासी हुमा देवकोटा । यस अभियानको अन्य स्थानमा पनि सिको गरियो भने परम्परागत संस्कृति संरक्षण हुनेछन् । यस्ता कार्यमा स्थानीय सरकारले चासो दिएर काम गर्नुपर्नेछ ।

वडाका ११ वटै टोल विकास संस्थाको सक्रियतामा सरसफाइ अभियान कार्यक्रम सुरु गरिएको छ । पछिल्लो समय पिङ राख्ने र खेल्ने परम्परा गाउँघरमा हराउँदै जाँदा वडा कार्यालयले सबै टोलमा कम्तीमा एकवटा पिङ राख्ने अभियान ल्याएको छ । सबै टोल विकास संस्थालाई वडा कार्यालयमार्फत पिङ राख्न एक÷एक वटा डोरी उपलब्ध गराउने वडाले जनाएको छ ।

प्रकाशित मिति : September 29, 2022 at 2:05 pm