१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

‘कर्णाली निर्माणार्थ साझा सोच र दायित्व आवश्यक’

९ असाेज, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली निर्माणका लागि साझा सोचका साथै दायित्व बोध आवश्यक रहेको बताएका छन् । कर्णाली प्रदेशको वीरन्द्रनगरमा न्यूज–२४ द्वारा आज आयोजित सिधा कुरा मुख्यमन्त्रीसँग कार्यक्रममा उनले सरकार एक्लैले केही गर्न नसक्ने जनाए । “कर्णाली तथा सिङ्गो मुलुकको विकास र समृद्धिका निम्ति राज्यभित्रका सबैको साझा दायित्व छ”, उनले भने, “यद्यपि जननिर्वाचित हरेक सरकारले त्यसको सही नेतृत्व गर्नै पर्दछ ।”

मुख्यमन्त्री शाहीले मुलुक सङ्घीयतामा गएपश्चात् विकास निम्ति कर्णालीले केन्द्रमा धाउनुपर्ने अवस्था नरहेको बताए । नागरिकको घर आँगनको प्रदेश सरकारले पूर्वाधारमा कालोपत्र, ग्राभेल सडक, एकीकृत बस्ती विकास, खानेपानी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा अपेक्षित कार्य गरेको उनको जिकिर थियो ।

उनले गत आव २०७८÷७९ करिब ८० प्रतिशत बजेट खर्च गरिएको जनाए । “प्रदेश केन्द्रको प्रणालीबाट चल्न बाध्य हुनुपरेकाले हामीले असारमा दिनुपर्ने बजेट भुक्तानीमा केही समस्या आए”, मुख्यमन्त्री शाहीले भने, “सम्पन्न योजनाको भुक्तानी सङ्घले असार २८ गतेसम्म दिइरहँदा प्रदेशको खाता असार २५ बन्द गरिदियो ।” यसले गर्दा पनि प्रदेशको प्रगति कम देखिएको उनको भनाइ थियो ।

हिजो कर्णालीलाई केन्द्रले हेरेन भनिरहँदा आज प्रदेश सरकारको मुख्य नेतृत्वमा आउँदा किन कर्णाली बनाउन सक्नुभएन भन्ने सहभागीको प्रश्नमा मुख्यमन्त्री शाहीले भने, “कर्णाली निर्माणका लागि साझा सोच, सहयोगी संस्कार र भएको कामबारे भन्ने सही सोच राख्न जरुरी छ, सुशासन, बचनबद्धता र समयको पालना गर्ने कार्यमा सरकार प्रतिबद्ध छ ।”

नेकपा (एमाले) का नेता यामलाल कँडेलले नेतृत्वमा पुगेकाले आफूहरुले भनेको नसुन्दा कर्णालीको अपेक्षाकृत विकास हुन नसकेको आरोप लगाउनुभयो । विश्लेषक पिताम्बर ढकालले संविधान बनेर कानुन नबनेको अवस्थाबाट सुरुआत भएका प्रदेश सरकारबाट केही भएन भन्न नमिल्ने तथापि आशा गरिएअनुसार जनताको जीवनशैलीमा परिवर्तन नआएको तर्क गरे । उनले भने , “पार्टीका घोषणा पत्र बमोजिम काम भएको पाइएन, राजनीतिक दलहरुको यसमा इमान्दारिता देखिएन ।”

उक्त कार्यक्रममा प्रदेश लगानी बोर्ड, प्रदेश औद्योगिक ग्राम, लगानी सम्मेलन, प्रदेश विमानस्थल सञ्चालन हुन नसकेको, संविधानको मौलिक हक बमोजिम विद्यार्थीले कक्षा १२ सम्म निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, बाटो, बिजुली जस्ता क्षेत्रको विकास हुन नसकेको लगायतका प्रश्न, जिज्ञासा र सवाल सहभागीहरुले मुख्यमन्त्रीसमक्ष राखेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार १३:१८