२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

फेरियो अल्पसङ्ख्यक सुनाहा जातिको जीवनशैली

८ असोज, दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीका युवा कालुसिंह सुनाहालाई आफ्ना अग्रजले नदीमा सुन छानेको स्मरण छैन । महाकाली नदी छेउको सुनाहा बस्तीमा हुर्केका कालुसिंह आफ्ना अग्रजले महाकाली नदीमा न सुन छानेको देख्नुभयो न त माछा मारेर घरपरिवार चलाएको सम्झना छ । महाकाली नदीमा सुन छान्ने र माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायको जीवनशैली पछिल्लो समय फेरिँदै गएको छ ।

अल्पसङ्ख्यक जातिका रुपमा रहेको सुनाहा समुदायले पछिल्लो समय नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गर्ने गरेका छन् । भीमदत्त नगरपालिकाको वाड नं. १२ र १३ मा ७५ परिवार अल्पसङ्ख्यक सुनाहा जाति बसोबास गर्दै आएका छन् ।

पछिल्लो समय पुख्र्यौली पेसा लोप हुँदै गएपछि विकल्पका रुपमा यो समुदायले महाकाली नदीमा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गरिरहेको स्थानीय युवा कालुसिंह बताउनुभयो । “अग्रजको जस्तो नदीमा गएर सुन छान्न आउँदै त्यो सीप हामीले सिकेका छैनौँ”, उनले भने, “अहिले महाकाली नदीमा गिट्टी, बालुवा छानेर गुजारा गरिरहेका छौँ ।” उनले सुनाहा जाति अल्पसङ्ख्यक भएकाले अरू जातिको जस्तै कोटा हुनुपर्ने बताए।

“आर्थिक समस्याका कारण शिक्षा, स्वास्थ्य लगायतका सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको छ”, उनले भन्याे, “हाम्रा छोराछोरीलाई पठनपाठन निःशुल्क हुनुपर्छ अरू जाति जस्तै हाम्रो जातिको पनि कोटा हुनुपर्छ ।” उनले दलित, राउटे रानाथारू जातिका लागि राज्यले सबै क्षेत्रमा कोटा र सुविधा दिएको तर आफ्नो अल्पसङ्ख्यकका लागि कुनै सेवासुविधा नभएको गुनासो गरे ।

सोनाहा जातिको पुख्र्यौली पेसा पछिल्लो पुस्ताले अनुसरण नगरेपछि नदीमा सुन छान्ने पेसा हराउँदै गएको ७० वर्षीया उमरेसी सुनाहाले बताए । “उति बेलाका पुर्खाहरुले नदीमा सुन छान्ने र माछा मारेर दैनिकी चलाउँथे”, उनले भने, “त्यसपछिको पुस्ताले नदीमा सुन छान्न सिकेन अहिले नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गरिरहेका छन ।” उहाँले अहिलेको पुस्ताले सुन छान्ने पेसाको विकल्प खोजिरहेको बताउनुभयो ।

अर्का स्थानीय घनश्याम सुनाहा घर बनाउने काम गर्नुहुन्छ । उहाँले पुख्र्याैली पेसाको विकल्पका रुपमा घर निर्माण गर्ने गरेको बताउनुभयो । “हाम्रा पुर्खाले नदीमा सुन छानेको देखेका पनि छैनौँ ।” उनले भने, “अहिले दैनिक मजदुरी खेतीपाती गरेर जीवन निर्वाह गरिराखेका छौँ ।” उनले सरकारले सुनाहा जातिलाई अन्य लोपोन्मुख जातिका रुपमा पहिचान दिनुपर्ने बताए ।

बर्दिया र कञ्चनपुरमा मात्रै बसोबास रहेको यो समुदायले पटक पकट जातीय पहिचानका लागि सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको बताउँछन् । “सुनाहा जातिको समूह बनाएर काठमाडाैँसम्म पुगेका छाैँ सुनुवाइ भएन”, घनश्यामले भने, “काठमाडाैँ जान पैसा नभएर सबै प्रतिपरिवार दुई हजार उठाएर काठमाडाैँ पुगेर आफ्ना माग राख्यौँ ।”

सुनाहा समुदायका बालबच्चाको शिक्षाका लागि सरकारले व्यवस्था गरिदिनुपर्ने मेघादेवी सुनाहाले बताइन् । “आर्थिक समस्याका कारण हाम्रा छोराछोरीले विद्यालय जान पाएका छैनन्”, उनले भने, “विद्यालयमा कक्षा ९ सम्म मात्रै निःशुल्क छ त्यसभन्दा माथि शुल्क लिने गरेका छन ।” उनले उच्च शिक्षा अध्ययनका लागि आर्थिक समस्या हुँदा विद्यालय छोडेर रोजगारीका लागि भारतर्फ जाने गरेको बताए । यो समुदायको प्रमुख आय स्रोतका रुपमा महाकाली नदी रहेको छ । असोज महिनादेखि असारको महिनासम्म नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गर्ने गरेका छन् ।

प्रकाशित मिति : September 24, 2022 at 4:43 pm