४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

ओलीले तयार गरे मंसिर ४ मा मतदान अघि मतदाताले आफैँलाई गर्नुपर्ने सात प्रश्न

२४ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अागामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्नुअघि मतदाताले आफैँलाई गर्नुपर्ने सात प्रश्न दिएका छन । अखिल नेपाल महिला संघको बैठकलाई भर्चुवल सम्बाेधन गर्दै अध्यक्ष ओलीले बिहीबार यस्तो प्रश्न दिएका हुन ।

ओलीले गठबन्धनले अहिले नै देश बेचेर खान लागेको भन्दै जनादेश पायो भने झना खतरनाक परिस्थिति पैदा हुने भन्दै सात प्रश्न अघि राखेका छन । उनले भने, ‘अदालतबाट परमादेशका नाममा गठन हुँदा त यस्तो वितण्डा छ, अराजकता छ भने भोलि यस गठबन्धनले जनादेश पाउने हो भने यसले के गर्छ ? यसले त देश बेच्छ । यसले देश लुटिरहेको छ, यसले देश लुट्ने कुरा अझ खुलेआम बनाउँछ । किनभने गठबन्धन छँदैछ, गठबन्धन बनाइदिनेहरू छँदैछन् ।’

अोलीले मंसीर ४ गतेले फैसला गर्नुपर्ने सात प्रश्न यस्ता दिएका छन

१. देश यस्तै हुने हो कि देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने ?

२. देशको राष्ट्रियता जोगिने कि नजोगिने ?

३. देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा हुने कि नहुने ?

४. हामीले हाम्रो नक्सामा सामेल गरेको हाम्रो भू–भाग कायम हुने कि नहुने ?

५. नक्सामा कायम गरेको भू-भाग फिर्ता लिने कि नलिने ?

६. हाम्रो भू–भाग अक्षुण रहने कि नरहने ?

७. अखण्ड रहने कि नरहने ?

उनीले सात प्रश्न राखेर यही प्रश्नको जवाफ आउने गरी जनताले मतदान गर्नुपर्ने बताएका छन । उनले यस्ता विषयमा गठबन्धनले नबोल्ने पनि बताएका छन । ओलीले भनेका छन, ‘गठबन्धन  बोल्दैन किनभने उसको सत्ताभन्दा माथि केही पनि छैन । यो देशका निम्ति होइन, जनताका निम्ति होइन, आफ्ना निम्ति, आफ्ना परिवार, नातागोताका निम्ति, आफ्ना गुटका निम्ति, आफ्ना समूहका निम्ति छ । यस्तैमा देश चल्ने कि देश लोकतान्त्रिक बाटोमा फर्किने ?’

उनले संविधानको रक्षा, सही ढङ्गले कार्यान्वयन हुने र आवश्यक परेको ठाउँमा संविधान परिमार्जन पनि गर्दै जानुपर्ने बताएका छन । उनले भनेका छन, ‘आवश्यक पर्यो भने संविधान परिमार्जन पनि हुन्छ, संविधान परिवर्तनीय, संशोधनीय दस्तावेज नै हो । यो गर्दै जानुपर्ने हुन्छ ।’ ओलीले समाजमा कोही पनि गुण्डाहरूसँग बोल्न नसक्ने स्थिति सिर्जना हुन थालेको बताए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १७:४३