साकेला गाउँपालिकाको भवन शिलान्यास
२१ भदौ, खोटाङ । खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको पाँच वर्षपछि गाउँपालिकाको आफ्नै भवन निर्माण सुरु गरिएको हो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण हुने भवन सोमबार गाउँपालिका अध्यक्ष रबीप्रकाश राईले शिलान्यास गरेका छन् ।
आफ्नै भवन नहुँदा हाल साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङस्थित साबिकको इलाका कृषि तथा पशुसेवा केन्द्रको कार्यालयबाट गाउँपालिकाको सेवा प्रवाह हुँदै आएको छ ।
भ्याटसहित ७ करोड ६२ लाख ३५ हजार १५२ रुपैयाँका लागतमा निर्माण गर्नेगरी निर्माण कम्पनी मल्लरानी–सजीव जेभीले गत २० असारमा भवन निर्माणको सम्झौता गरेको गाउँपालिकाका इन्जिनियर आशिष राईले बताए । बाल, लैंगिक र अपांगमैत्री हुने तीन तले सुविधा सम्पन्न भवन सम्झौता भएको मितिले एक वर्ष छ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
भवन शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । भवन शिलान्यास कार्यक्रमकै अवसरमा गाउँपालिका अध्यक्ष राईले मानेभञ्ज्याङमा लाग्दै आएको ऐतिहासिक हाटबजारको नवनिर्मित संरचना उद्घाटन गरेका छन् ।
प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १७:३५