३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

जुम्लामा यस वर्ष स्याउबाट करिब ५० करोड भित्रिने आंकलन

१७ भदौ, जुम्ला । जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालयले गत वर्षको तुलनामा यस वर्ष स्याउको आम्दानी बढ्ने जनाएकाे छ।

गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झन्डै १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने आंकलन गरेकाे कृषि विकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश अधिकारीले बताए । उनले भने, ‘स्याउ निर्यातबाट जुम्लामा झन्डै ५० करोड बढी आम्दानी हुन भएको छ ।’ जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार र उत्पादन वृद्धिले पछिल्लो समय जुम्ली किसानको दिनचर्या फेरिन थालेको छ ।

गत वर्ष १० क्विन्टल स्याउ फलाएका गुठिचौर गाउँपालिका-५ का किसान देवीकृष्ण धितालले यस वर्ष भने १८ क्विन्टल उत्पादन गरेका छन् । स्याउ खेतीबाटै मनग्य आम्दानी हुने सम्भावना रहेकाले रोजगारी खोज्न कालापहाड जानुपर्ने अवस्था नरहेकाे धिताल बताउँछन । ‘आयातितभन्दा जुम्लाको स्याउ निकै स्वादिष्ट छ। तर व्यवस्थापकीय कमजोरीले बजारीकरणमा समस्या देखिन्छ,’ उनले भने ।

ग्रेडिङ लेवलिङ प्याकेजिङ जस्ता कुरामा सरकारी तवरबाट ध्यान पुर्‍याउन जरुरी रहेको जुम्लाका वरिष्ठ किसान रामकृष्ण बुढ्थापाले बताए । उनले भने, ‘जुम्ली स्याउ स्वादिष्ट हुँदाहुँँदै पनि मूल्य पाउन सकेको छैन। कोल्ड स्टोर निर्माण, मूल्य निर्धारण र बजारीकरणलगायतको व्यवस्थापकीय पाटोमा राज्यले ध्यान दिनुपर्ने आवश्यक छ ।’

जुम्लामा चार हजार एक सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ सय हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान रहेको कृषि विकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश अधिकारीले बताए । उनले भने, ‘जसबाट करिब ५० करोड आर्थिक भित्रिने आंकलन छ ।’ उनका अनुसर पालिकामध्ये सबैभन्दा बढी चार हजार मेट्रिक टन गुठिचौरमा फलेको छ ।

समयमै पानी पर्दा र हावापानी अनुकूल हुँदा गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन बढेको हो । यस वर्षको स्याउको बजार प्रवर्द्धनका लागि जुम्ला एप्पल लेखेको कार्टुन ५० प्रतिशत अनुदानमा वितरणका लागि १५ हजार खरिद गरिएकोमा १२ हजार वितरण भइसकेको निमिक्त प्रमुख अधिकारीले बताए ।

प्रकाशित मिति : September 2, 2022 at 1:19 pm