हचुवामा कर लगाउँदा देशैभर हंगामा भयोः उपाध्यक्ष प्रा डा कडेल
२३ भदा, काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कडेलले हचुवामा कर लगाईंदा देशैभर हंगामा मच्चिएको बताउनुभएको छ । उपाध्यक्ष कडेलले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आयोजित अन्तरकृया कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
कर प्रशासनका विज्ञ समेत रहनुभएका डा. कडेलले भन्नुभयो “कर ज्यादै संवेदनशिल चिज हो, यसको प्रभाव एउटा सत्ता फालेर अर्को सत्ता ल्याउने औजारको रुपमा समेत विभिन्न मुलुकमा अभ्यास भएको छ ।” हचुवामा करका दर निर्धारण नगरी, अध्ययन गरेर जनतालाई सेवा दिएर मात्र कर लगाउनु पर्ने उहाँको धारणा छ ।
उपाध्यक्ष कडेलले देशलाई कस्तो बनाउने भन्नु कुरा स्थानीय तहको कार्यशैलीमा भर पर्ने बताउँदै कसरी साधन र स्रोत जुटाउने, जनतालाई समस्या नपर्नेगरी कर लगाउने कुरामा ध्यान दिनु आग्रह गर्नुभयो । उहाँले करले देशैभर हंगामा सिर्जना भएको बताउँदै पछिल्लो समय सिर्जना भएको कति भ्रम कति वास्तविकता हो भन्ने कुरा वित्तिय आयोगले अध्ययन गरिराखेको पनि बताउनुभयो ।

उपाध्यक्ष कडेलले सिन्धुली जिल्लामा निर्माण हुने ठुला राष्ट्रिय गौरवका आयोजनाको निरिक्षण गर्नुभएको छ । सुनकोसी–मरिण डाइभर्सन र खुर्कोट–चियाबारी सुरुङमार्गको निरिक्षण गर्दै उपाध्यक्ष कडेलले यी परियोजनाहरु समयमै शुरु गरेर सम्पन्न गरिनुपर्ने औंल्याउनु भएको छ । मध्यपहाडी लोकमार्गको हेटौंडा–चतरा खण्डको समेत अवलोकन गर्दै उपाध्यक्ष कडेलले यी परियोजना समयमै सम्पन्न गर्न सबै पक्षको सहयोगको जरुरत पर्ने बताउनु भयो । उहाँले सिन्धुलीको समृद्धीसंग जोडिएको यी परियोजनाहरुले समग्र सिन्धुलीको मात्र नभई प्रदेश नम्बर दुईकाको समेत विकास भई देशको आत्मनिर्भरतामा टेवा पुग्ने बताउनुभयो ।
हेटौंडा–चतरा खण्डको मरिणखोला पुलको अवलोकन गर्दै उपाध्यक्ष कडेलले पुल उद्घाटन समारोहमा सहभागीता जनाउनु भएको थियो । पुल उद्घाटनका अवसरमा उहाँले योजनाहरु शुरु गर्ने र बर्षौंसम्म नबन्ने प्रबृत्ति तोड्दै मरिण खोलामा निर्माण सम्पन्न भएको ४०० मिटर लामो पुल डेढ वर्ष अगावै काम सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले परम्परागत प्रवृत्ति तोड्दै डेढ वर्ष अघी निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलाई पनि धन्यवाद दिनु भयो ।

उहाँले सुनकोसी–मरिण डाइभर्सन, खुर्कोट–चियाबारी सुरुङमार्ग र मरिण शुरु भएको कृषि क्याम्पसको पनि अवलोकन गर्नुभयो । मरिण फाँटको समेत अवलोकन गर्नु भएका उपाध्यक्ष कडेलले शहरिकरणले मरिण फाँटको कृषि योग्य जमिनलाई कंकृटले ढाक्ने होकी भन्ने चिन्ता व्यक्त गर्नु भयो । उहाँले फाँटलाई संरक्षण गर्न चुरे भत्किएर आएको गिटी बालुवा विधिसम्मत तरिकाले निकाल्न पनि सुझाव दिनुभयो ।
योजना आयोगले देश निर्माणको लागी सरकारको आदेश र आवश्यकतालाई हेरेर अगाडी बढेको बताउनुभयो । उहाँले मध्यपहाडी लोक मार्ग सिन्धुली र खासगरी मरिण गाउँपालिकाको विकासको महत्वपुर्ण परियोजना भएको बताउँदै अन्य परियोजनामा पनि आयोगले विशेष ध्यान दिने बताउनुभयो ।
मरिणबाट फर्किएर सदरमुकाममा सिन्धुली जिल्ला समन्वय समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा उपाध्यक्ष कडेलले मरिणफाँट पुरिँदै गएको प्रति चिन्ता व्यक्त गर्दै चुरे विनाशलाई रोक्न विशेष कार्यक्रम लागु गर्न आवश्यक देखिएको बताउनुभयो । उहाँले सिन्धुली रणनैतिक रुपले पनि महत्व बोकेको जिल्ला भएको बताउनुभयो । सिन्धुली नेपालको इतिहासमा सार्वभौम सत्ता संरक्षणसंग जोडिएको जिल्ला र वर्तमानमा पनि देशलाई आत्मर्निर बनाउने साधन स्रोतलेयुक्त बनजंगल, सिंचाई योग्य जमिन र चालु योजनामा रहेको ठुला योजनाका कारण अत्यन्तै महत्वपुर्ण जिल्ला रहेको बताउनुभयो । उहाँले विगतमा सडकको पहुँच ढिलो भएको कारण पछि परेको बताउँदै अव समृद्धिको ढोका खुलिसकेको बताउनुभयो ।
सुनकोसीले सिन्धुली मात्र नभई तराइका जिल्लाहरु सिंचाइ गर्न सकिने बताउँदै उपाध्यक्ष कडेलले भन्नुभयो “हाम्रो कृषि उत्पादनलाई तिब्ररुपमा आत्मनिर्भर बनाउन सहयोग पुग्छ ।” विकासलाई प्रभावकारी बनाउन शिक्षालाई विशेष ध्यान दिनु जरुरी रहेको उहाँको भनाई छ । उपाध्यक्ष कडेलले भन्नुभयो शिक्षालाई योजनाको केन्द्रबिन्दुमा राखेर विकास गर्नु पर्छ ।
उहाँले राष्ट्रिय योजना आयोगले राष्ट्रिय महत्वका योजना मात्र हेर्ने बताउँदै प्रदेशमा योजना आयोग गठन भैसकेको र स्थानीय तहले पनि योजनालाई महत्वका साथ काम गरिराखेकोले अवका दिनमा आवश्यकता र महत्व हेरेर विकास परियोजनाहरु निर्माण हुने बताउनुभयो । उहाँले योजना आयोगले सिन्धुली जिल्लामा के–के गर्नु पर्ने हो छलफल गरेर योजनाबद्ध आधिकारिक कुरा आए नेपाल सरकार, राष्ट्रिय योजना आयोगले सहयोग गर्ने बताउनुभयो ।
चिटबाट योजना बनाउने दिन गएः डा. रामकुमार फुयाल – सदस्य राष्ट्रिय योजना आयोग
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आयोगले दिर्घकालिन सोच सहितको तथ्यपरक नीतिमा आधारित योजना बनाउने र त्यसलाई तदारुकताका साथ कार्यान्यवन गराउने बताउनुभयो । उहाँले हाम्रा अग्रजहरुले अघि सारेका राम्रा उत्पादनशिल र भविष्यमा त्यसबाट देशलाई रुपान्तरण गर्न सक्ने संभावना भएका चिजहरुलाई हामीले फिल्टर गरेर कार्यान्वयन गर्छौं भन्नुभयो ।

सदस्य फुयालले आयोगले नयाँ कामको सुरुवात गरेको बताउँदै “भन्नुभयो अवको पाँच वर्षमा हामी कहाँ पुग्ने, १० वर्षमा के उपलव्धी हासिल गर्ने र २० वर्षमा हाम्रो भिजन के हुने र अनन्तकालमा हामी कहाँसम्म पुग्ने भन्ने दृष्टान्त हेरेका छौं ।” अहिलेको यो संवेदनशिल, चुनौतिपुर्ण र धेरै अवसरहरु भएको घडिमा भिजन डकुमेन्टको तयारीमा जुटेको बताउँदै १५ औं आवधिक योजना तयार गर्न १४ औं योजनाको समिक्षात्मक काममा व्यवस्त रहेको बताउनुभयो ।
समिक्षामा के कुरा विस्थापित गर्न र के कुरा स्थापित गर्ने भनेर विज्ञसंग वहस छलफल सल्लाह लिइरहेको फुयालले बताउनुभयो । उहाँले भन्नुभयो “अवको योजना भनेको पूर्ण योजना हुनेछ । कसैको भावनामा डुबेर कसैको खल्तिको चिटबाट योजना बनाउने दिन गए ।” अवका योजना भनेको अत्यन्तै गम्भिर भएर फिजिविलिटी स्टडी गरेर इआइए गरेर देशको संभाव्यवता लागत लाभको पुर्ण अध्ययन गरेको रिर्पाेट र रिसर्चको अधारमा आएका योजनाका आधारमा मान्यता दिइने बताउनुभयो ।
उहाँले हाम्रो देशको संभाव्यता के हुन, कुन चाहीं लागत लाभको आधारमा थोरै लगानी गरी धेरै प्रतिफल लिन सक्छौं, देशलाई आर्थिक रुपमा छिट्टै समृद्ध बनाउन सक्छौं त्यस्ता योजनाको अध्ययन भैरहेको बताउनुभयो । सिन्धुलीका स्थायी बासिन्दा समेत रहनुभएको फुयालले सिन्धुली ठुला फाँटहरु, जडिबुटी, पशुपालन, राजनीतितिक रणनीतिक महत्व बोकेको चीन र भारत जोड्न सक्ने जिल्ला भएको बताउँदै यसको विकासका निम्ति सुनकोशी डाइभर्सन चियाबारी सुरुङमार्ग मात्र सिमित नभएर सिंगो भारतसंग जोडेर कसरी फाइदा दिन सकिन्छ भनेर योजना निर्माण गरिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : 11:17









