२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

पार्टीको सदस्यता त्याग्न कर्मचारीलाई मेयर साहको अल्टिमेटम, उजुरीका लागि अपिल


८ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले पार्टीको सदस्यता त्याग्न कर्मचारीहरूलाई अल्टिमेटम दिएका छन । साहले कानुनमा भएको व्यवस्था कार्यान्वयनका लागि यस्तो चेतावनी दिएका हुन । यसअघि सरूवा, बढुवा र पदस्थापनाकै लागि पनि कर्मचारीले दलको सदस्यता लिने गरेका थिए । धेरैजसो कर्मचारीले तीन वटा दलसम्मको सदस्यता लिएका छन ।

यसअघि नेपाल सरकारका एक मुख्यसचिवले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सदस्यता लिएको सार्वजनिक भएको थियो । प्रायः उपसचिव र सहसचिवहरू पनि दुई दलको सदस्यता लिएर बसेको पाइन्छ । तल्ला तहका कर्मचारी त पुरै कार्यकर्ता नै बनेर कार्यालय छाडेर पार्टीका कार्यक्रमहरूमा जाने र जय नेपाल, लालसलाम र अभिवादन भन्दै खटिने गरीरहेका छन ।

काठमाडौँ महानगरपालिकामा पनि दलको कार्यकर्ता रहेका कर्मचारीका कारण समस्या हुनेदेखिएपछि प्रमुख साहले उनीहरूलाई कानुन अनुसार पदीय आचारणमा रहन निर्देशन दिएका हुन । उनले निर्देशन अवज्ञा गरेर त्यस्तो काम नगर्ने कर्मचारीको सम्बन्धमा जन गुनासो लिने र कारबाही गर्ने नीति लिएका छन । प्रमुख साहको यो एकदमै सह्रानीय निर्णय हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ ।

प्रमुख साहले भनेका छन, ‘उक्त कानून कार्यान्वयन गर्नको लागि अजित भण्डारी विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत भएको (मुद्दा नं. ०७८–Wo–०४०८) मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७९।२।४ मा परमादेश समेत जारी भएको छ । काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको छ ।’

प्रमुख साहले अघि भनेका छन, ‘उक्त कानूनी व्यवस्था तथा सम्मानीत उच्च अदालत पाटनको आदेशको परिपालना गर्नु गराउनु काठमाडौं महानगरपालिकाको साथसाथै प्रत्येक राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्था तथा महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दायित्व हो । काठमाडौं महानगरपालिकाको कार्यक्षेत्र भित्र सुशासन प्रबद्र्धन गर्नको लागि महानगर अन्तर्गतका शिक्षक तथा कर्मचारीहरु कुनै पनि राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्य हुनु कानून सम्मत हुदैन ।’

उनले काठमाडौँ महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलिय आबद्धतासंग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थालाई हार्दिक अपिल गरेका छन ।

प्रमुख साहले राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्यको रुपमा राजनीतिक आवद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आवद्धता तत्काल त्याग गरी कानूनको परिपालना गर्न अनुरोध गरेका छन । उनले कसैले कुनै कर्मचारीको राजनीतिक आबद्दता देखेमा त्यसको सूचना र प्रमाण आफ्नो व्यक्तिगत इमेलमा दिन अनुरोध गरेका छन । त्यसका लागि उनले [email protected] मा इमेल गर्न अनुरोध गरेका छन ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ०७:०७