९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

बलात्कार घटना न्यूनीकरणका लागि हस्ताक्षर अभियान

२२ भदाै, वुटवल । बलात्कार घटना न्यूनीकरणका लागि सरकारमाथि दबाब सिर्जना गर्न सञ्चारीका समूह लुम्बिनीले बुटवलमा हस्ताक्षर अभियान शुरु गरेको छ ।

यहाँस्थित पुष्पलाल पार्कमा बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर सङ्कलन गरिएको थियो । सञ्चारीका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकासमन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीलगायत प्रदेशसभा सदस्यले पनि ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गर्नुभएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले चेतनाको अभाव वा अन्य कारणले गर्दा महिला बलात्कृत हुनबाट रोकिएको छैन भन्दै यसको न्यूनीकरणका लागि यस्ता दबाबमूलक क्रियाकलापको अपरिहार्यता रहेको बताउनुभयो ।

अभियानका क्रममा एक हजार जनाले हस्ताक्षर गरेका थिए । सङ्कलन गरिएको हस्ताक्षर प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम रहेको सञ्चारीका समूह लुम्बिनीकी अध्यक्ष अनमोलले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुपन्देही, अन्तर पार्टी महिला सञ्जाल तिलोत्तमा नगरपालिका, दलित महिला सङ्घ (फेडो), महिला जेसिस, स्वतन्त्र विकास समाज, रेडियो मुक्ति, रेडियो रिपब्लिक, सिद्वार्थ सामुदायिक समाज, सेलर्ड रुपन्देही, कदम नेपाल लगायत संस्थाले ऐक्यबद्धता जनाएका थिए ।

प्रकाशित मिति : September 7, 2018 at 7:31 am