१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

विद्युत प्राधिकारणको लापरवाहीले करेन्ट लाग्दा एक बालक गम्भीर घाइते

३ भदाै, मकवानपुर । नेपाल विद्युत प्राधिकारणको लापरवाहीले गर्दा थाहा नगर ९ मा एक बालकलाई करेन्ट लागेको छ । नगरपालिकाको ९ नम्बर वडा चित्लाङ्ग खलिबनमा करेन्ट लाग्दा ११ वर्षका सुदिप तामाङ्ग गम्भीर घाइते भएका छन् ।

करेन्ट लाग्दा उनको हातै छिनेको छ साथै उनको शरिरको बिभिन्न भागमा गम्भीर क्षती पुगेको छ । उनको अहिले किर्तिपुर स्थित बर्न अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । उनको अवस्था अत्यन्त गम्भिर रहको डाक्टरहरुले बताएका छन् । तामाङ्गलाई आज दिउँसो घर नजिकै खेल्ने क्रममा करेन्ट लागेको थियो । खेल्ने क्रममा घर नजिकैको विद्युत पोलमा चंगा अड्केको र त्यसलाई झिक्न खोज्दा करेन्ट लागेको हाे ।

केही समय अगाडि मात्र निर्माण भएको ३३ हजार केवीए लाइनको पोल पुरै ढल्केको र तार पनि जमिनबाटै छुने देखिन्छ । यस बारेमा प्राधिकरण समक्ष गुनासो गरे पनि सुनवाई नभएको स्थानिय सानुकान्छा तामाङ्गले बताएका छन् । उनका अनुसार गाउँलेहरुलाई प्राधिकरणले तारमा करेन्ट प्रवाह गरेको पनि थाहा छैन ।

उनी भन्छन, “केही समय अघिमात्र प्राधिकरणबाट निरिक्षणको लागि गाउँमा केही प्राविधिक आएका थिए, उनीहरुलाई पोल र तार व्यवस्थित नगरि लाइन नछोड्न भनेका थियौं । उनीहरुले पनि सबै व्यवस्थीत भए पश्चातमात्र करेन्ट छोड्ने बताएका थिए । तर कहिले लाइन छोडे हामीलाई थाहा भएन । यही सुचना थाहा हुन्थ्यो भने आजको घटाना घट्ने थिएन कि ? अब यसको सबै जिम्मा प्राधिकरणले नै लिनु पर्दछ ।”

यस विषयमा प्राधिकरणका प्रबक्ता सुरेश भट्टराईसँग कुरा गर्दा नेपालको सबै तिरको माटो नै बग्नेखालको भएको हुँदा पोलहरु ढल्कीने हुन्छ । त्यसरी पोल, तारमा केही समस्या आए बितरण केन्द्रले हेर्ने हुँदा उनीहरुसँग बुझेर मात्र के भएको हो भन्न सक्छु भने ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १८:३७