७ असार २०८३, आइतबार | Sun Jun 21 2026

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : योगेश भट्टराई

३ भदाै, काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् ।

पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सचिव भट्टराईले भने, ‘नेकपा एमालेसँग विगतमा सरकार सञ्चालन गरिसकेको अनुभव छ। र, आउने दिनमा पनि एमाले बहुमत ल्याएर प्रदेश र संघको सरकार संचालन गर्ने त्यो आकांक्षाका साथ हामी चुनावमा जाँदैछौं। त्यसो हुँदा हाम्रो घोषणा पत्र व्यवहारिक, उपयोगी, गर्न नसकिने अनावश्यक पपुलारिटीको हिसाबले होइन्, एउटा राजनीतिक दलको हिसावले भोलि गर्न सकिने मुद्दाहरुमा केन्द्रित हुँदै व्यवहारिक मुद्दाहरुमा केन्द्रित हुँदै र विश्वव्यापी हाम्रा कमिटमेन्टहरुलाई पनि सम्बोधन गर्दै अगाडि जाने घोषणा पत्र हामी बनाउने छौं।

विषय विज्ञहरुसँग आवश्यक छलफल गरेर सो घोषणा पत्र तयार गरिनेछ। त्यो जनपक्षीय, नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्ने, आजका चुनौतिहरुलाई सम्बोधन गर्न सक्ने आज जनताको आकांक्षा अनुरुपको घोषणा पत्र बनाउन हामी सक्षम हुनेछौं।’

सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनको लागि बनाउन लागेको घोषणा पत्रको मस्यौदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : August 19, 2022 at 6:07 pm