नागरिकता विधेयक टाउको गणनाबाट टुंग्याउने विषय होइन, सर्वस्वीकार्य बनाइयोस्ः एमाले
२ भदाै, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिक्रियाका लागि जनतामा लैजान प्रस्ताव गरेको छ । एमालेले नागरिकताजस्तो दूरगामी विषयलाई सुधार गर्न राष्ट्रपतिले दिएको अवसरलाई संसदले गम्भीरतापूर्वक लिनुपर्ने आग्रह गरेको छ ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा पठाएको सन्देश र नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा बिहीबार एमाले सांसद ज्ञवालीले उक्त कुरा बताएका हुन् । ‘राष्ट्रपतिले आमाको गरिमा, प्रादेशिक पहिचान या अन्य यावत प्रश्नहरूलाई एकमुष्ट समाधान गरेर नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाइयोस् भनेर अवसर दिनुभएको हो,’ उनले भने, ‘यो टाउको गणनाबाट टुंग्याउने विषय होइन । समाज विभाजित भयो भने दुष्परिणाम पछिसम्म रहने छ ।’
ज्ञवालीले नागरिकता विधेयक मधेसी समुदायसँग मात्रै जोडिएको विषय नभएको बताउँदै भने, ‘यो दस्तावेज सिंगो राष्ट्रलाई प्रतिनिधित्व गर्ने, सबै भेग, सबै समुदाय र सबै जनताको समस्यासँग जोडिएको प्रश्न हो । यो राष्ट्रिय एकता हासिल गर्ने दस्तावेज पनि हो । यो केवल मधेसको या कुनै समुदाय विशेषको विषय होइन । तथ्यहरूले पनि त्यहि बताउँछन् ।’
उनले नागरिकता विधेयक छिटो टुंग्याउन प्रतिपक्ष रचनात्मक ढंगले सहयोग गर्न तयार रहेकाे बताउँदै यसलाई जबर्जस्ती, टाउकाको गिन्तीको आधारमा गरे यसका दुष्परिणाम राम्रो नहुने उल्लेख गरे ।
नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर राष्ट्रपतिकहाँ फिर्ता पठाउने सत्ता गठबन्धनको निर्णयले संसदीय व्यवस्थाको खिल्ली उडाएको ज्ञवालीको भनाइ थियो ।
प्रकाशित मिति : 13:29









