वामदेव गौतम प्रधानमन्त्रीको लोभमा माओवादीमा, राष्ट्रियसभा छाडेर चुनाव लड्ने
३१ साउन, काठमाडौं । आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । उनी प्रधानमन्त्री हुने उधारो आश्वासनमा घुमाउरो शैलीमा माओवादी प्रवेश गरेको बुझिएको छ । गौतमले राष्ट्रियसभा छाडेर प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा पनि गरेका छन ।
गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने अर्को घोषणा पनि गरेका छन । उनले पार्टी एकीकरण नभई चुनाव चिह्न मात्र लिएर निर्वाचनमा भाग लिन लागेको उनले बताए । यसअघि नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई पनि माओवादीको चिह्न लिएर निर्वाचनमा भाग लिने सहमति भइसकेको छ ।
माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो । त्यसको स्वागत गर्छौ । उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौं,’ महराले भने ।
माओवादी केन्द्रका नेता र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरू मंगलबार निर्वाचन आयोग जाँदैछन् । दुवै पार्टी एउटै चुनाव चिह्नबाट निर्वाचनमा जाने जानकारी गराउनका लागि आयोग जान लागेका हुन् ।
प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार ११:३७












