८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

एडिलेड नेपाली बिद्यालयको व्यवस्थापन समिति गठन

२८ साउन, एडिलेड । एडिलेड नेपाली विद्यालयको आगामी दुइ बर्षका लागि नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । शनिवार सम्पन्न अभिभावक भेलाबाट १५ सदस्यीय व्यवस्थापन गठन गरिएको हो ।

एडिलेड नेपाली समाज अन्तर्गत संचालित विद्यालयका लागि समाजको विधान तथा एथ्नीक स्कुल एसोसियसन अफ साउथ अष्ट्रेलियाको नियम बमोजिम गठित व्यवस्थापन समितिमा बिद्यालयको प्राचार्य लक्ष्मी सापकोटा आचार्य, बिद्यालय प्रशासक सुधा किरण सापकोटा, सहायक प्राचार्य हिमाल राज कडेल, सुरेन्द्र रेग्मी, नविन कडेल, यदु आचार्य, मञ्जु खड्का, बिष्णु बगाले, शिरोमणि धिताल, प्रदिप निरौला, सन्तोष अर्याल, सागर श्रेष्ठ, दिपा थापा, करुणा कडेल, लक्ष्मी सापकोटा रहेका छन् ।

समाजको कार्यसमिति बैठकबाट हालै प्राचार्यमा लक्ष्मी सापकोटा आचार्यलाई दोस्रो कार्यकालका लागि पुन नियुक्ति गरेको थियो । भने बिद्यालयको प्रशासकीय कार्य हेर्नका लागि बिद्यालय प्रशासकमा सुधा किरण सापकोटालाई तथा सहायक प्राचार्यमा हिमाल राज कडेल तथा नियुक्त गरेको थियो । एडिलेड नेपाली समाजका अध्यक्ष देवराज कडेलको अध्यक्षतामा भएको अभिभावक भेलाको संचालन एडिलेड नेपाली समाजका जनसम्पर्क अधिकारी सुरेन्द्र रेग्मीले गरेका थिए ।

भेलामा विद्यालयकी प्राचार्य सापकोटाबाट विद्यालयको दुइ बर्षे अवधिको प्रगति विवरण प्रस्तुत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नविन कडेलले दुइ बर्षे अवधिमा विद्यालय संचालन गर्न सहयोगी भुमिका खेल्ने शिक्षक, स्वयंसेवक तथा अभिभावकहरुलाई धन्यवाद दिएका थिए । भेलामा उठेका प्रश्नहरुको जवाफ प्राचार्य सापकोटा, समाजका जनसम्पर्क अधिकारी रेग्मी तथा निवर्तमान अध्यक्ष कडेलले दिएका थिए ।

एडिलेड नेपाली विद्यालयले २०१५ देखि नै एथनिकल स्कुल एसोसियसन अफ साउथ अष्ट्रेलियामा दर्ता भै निरन्तर रुपमा एडिलेडमा रहेका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा तथा संस्कृतिको पठन पाठन गराउदै आएको छ । बिद्यालयमा हाल ८० जना भन्दा बढि बिद्यार्थी अध्ययनरत रहेका छन् । गत बर्षबाट उमेर समुह अनुसार दुइबटा कक्षा संचालन हुदै आएको विद्यालयमा प्रत्येक शनिवार बिहान १०-१२.३० बजे सम्म स्थानिय सरकारी स्वामित्व रहेको एस्कट पार्क प्राइमेरी स्कुलमा संचालन हुने गरेको छ ।

विद्यालयले एथ्नीक स्कुल एसोसियसन तथा विभिन्न सामाजिक संघ संस्थाद्वारा संचालित सांस्कृतिक कार्यक्रमहरुमा नेपाली मौलिक गित तथा नृत्य प्रस्तुति अलावा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा बालबालिकाहरुलाइ सहभागी गराउदै आएको छ । भने बार्षिक बनभोज जस्ता कार्यक्रमहरु समेत गर्ने गरेको छ ।

प्रकाशित मिति : August 13, 2022 at 5:41 pm