२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

महिलालार्इ अंश र वंशमा समान अधिकार अावश्यकः मन्त्री पोखरेल

२४ फागुन, काठमाडौँ। रक्षामन्त्री ईश्वर पोखरेलले अंश र वंशमा पुरुषसरह समान अधिकार प्राप्त नभएसम्म महिला माथिको विभेद अन्त्य नहुने बताउनुभएको छ ।

संकृति सङ्ग्रहालय नेपालले आज यहाँ एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी कार्यक्रममा मन्त्री पोखरेलले उक्त कुरा बताउनुभएको हो । महिलाको विकास र उत्थान आंशिकभन्दा समग्रतामा हुनुपर्ने भन्दै उहाँले हिंसाको विरुद्धमा महिला पुरुषबीच समान बुझाइ हुनुपर्नेमा जोड दिनुभयो ।

आयोजकलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो, “यसरी निश्चित बिदामा केन्द्रित भएर गरिएको प्रदर्शनीले महिलाको अभिलेख र इतिहासबारे जानकारी दिनका लागि ठूलो भूमिका खेल्छ ।”

संकृति सङ्ग्रहालय नेपालका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले समाजमा धेरै महिला छन् केही त्यस्ता महिलाको थप पहिचानको आवश्यक भएकाले आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । आजबाट शुरु भएको प्रदर्शनी आगामी ३० गतेसम्मका लागि रहनेछ । प्रदर्शनीमा नेपालका विभूति हरित तारा भृकुटी, भगवान् बुद्धको जननी माया देवीको फोटो रहेको छ ।

त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, समाजसेवी एवं प्रदेश ३ का प्रमुख अनुराधा कोइराला, पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलगायतका देशलाई योगदान गर्ने महिलाको दुई सय फोटो राखिएको छ ।

प्रकाशित मिति : 15:48