३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन अनुदानमै गरिदिने चीनको घोषणा (विज्ञप्तिसहित)


२६ साउन, काठमाडाैँ । नेपालको उत्तरी छिमेकी चीनले केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन अनुदान सहयोगमा गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीले यस्तो घोषणा गरेका हुन् ।

बुधबार चीनको चिङ्दाओमा नेपाल चीन द्विपक्षीय वार्ता भएको समयमा विदेश मन्त्री वाङ यीले यस्तो बताएको बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

विदेश मन्त्री वाङले अनुदान सहयोगमा चीनले केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि गरे । उनले यसअघि सन् २०२२ को मार्चमा नेपाल भ्रमणमा सहमति भएको नेपाल–चीन क्रस बोर्डर प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनका लागि पनि सहयोग गर्ने आश्वासन दिए । सो अवसरमा मन्त्री वाङ यीले नेपाललाई सन् २०२२ मा ८० करोड आरएमबी उपलब्ध गराउने घोषणा गरे ।

वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृत्लिगायतका विभिन्न क्षेत्रका सहयोगलाई थप प्रवद्र्धन गर्ने सहमती भएको छ ।

विदेशमन्त्री वाङले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन दोहोर्याउदै नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकास प्रयासमा सहयोग गर्ने आश्वासन दिएका छन । दुई मन्त्री विगतमा उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता र समझदारीलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा चीनको सहयोगमा सञ्चालित आयोजनाहरुको कार्यान्वयनलाई तिब्रता दिन सहमत भएका छन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री डा खड्काले एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहो¥याउँदै नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने बताएको दूतावासको विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार ०८:३३