३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

नर्भिक अस्पतालले कब्जा गरेको सरकारी जग्गा नछाड्ने, यस्तो छ दाबी (भिडियो)


२४ साउन, काठमाडाैँ । नर्भिक अस्पतालले भोगचलन गर्दै आएको सरकारी जग्गा नछाड्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयबिना लिन नमिल्ने सरकारी जग्गा कानुन विपरित भूमिसुधार कार्यालय काठमाडाैँका एक जना अधिकृतसँग सम्झाैता गरेर लिएको देखिएको छ ।

अस्पतालले नेपाल सरकारको प्रतिनिधिसँग जग्गा लिएको भन्दै उ को भन्दा पनि सरकारी प्रतिनिधिको रूपमा हेर्नुपर्ने दलिल पेश गरेको छ । अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले उक्त सरकारी जग्गामा अस्पतालको अक्सिजन प्लान्ट, पानी, विद्युत् लगायतका संरचना भएको बताउँदै तत्काल उक्त जग्गा खाली गर्न नसकिने बताएका छन । उनले उक्त जग्गा नेपाल सरकारको रहेको भन्दै काठमाडाैँ महानगरपालिकाले त्यस जग्गामा दाबी गर्न नपाउने बताए । 

सोमबार वाग्मती प्रदेशका मन्त्री, काठमाडौं महानगरपालिका प्रमुख लगायतको टोली अस्पताल पुगेर २४ घण्टा भित्र सार्वजनिक जग्गा खाली गर्न अस्पताललाई पत्र थमाएको थियो । सो समय बित्न लाग्दा अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी जग्गा खाली नगर्ने बताएको हो ।

नर्भिक अस्पताल नेपालकै महँगो अस्पतालमा पर्दछ । सेवाग्राहीसँग महँगो शुल्क लिएर उपचार गर्ने सो अस्पतालले सरकारी जग्गा अवैध सम्झौता गरेर कौडीको भाउमा उपभोग गर्दै आएको पाइएको छ । झण्डै डेढ रोपनी सो जग्गा २०६५ सालमा वार्षिक १० प्रतिशत भाडा वृद्धि हुनेगरी ३३ हजार रुपैँयामा लिने गरी गरेको कागज अस्पतालसँग छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १३:०६