८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

पर्यटनमन्त्रीको एक्सनः लुम्बिनी गुरूयोजनाविपरीत गरिएको रिसोर्ट सञ्चालन अनुमति खारेज

१७ साउन, काठमाडौं । लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो । गुरूयोजनाविपरीत ुक्याम्पेन ग्राउन्डु मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको हो ।
परिषद वैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस संचालन गर्ने निर्णय पनि गरेको छ । बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा संचालन गर्ने निर्णय गरेको हो । लुम्बिनी जाने पर्यटकहरुलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस संचालनको निर्णय गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । विद्युतीय बस संचालनले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनका लागि जाने पर्यटकलाई सहज हुनेछ ।
कोषको परिषद बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक बर्षभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ । साथै विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिनेछ ।

प्रकाशित मिति : August 2, 2022 at 1:24 pm