निर्मला हत्या प्रकरणः अभियुक्त भनिएका विष्टलार्इ प्रहरीले चरम यातना दिइरहेको परिवारको दाबी
१९ भदाै, काठमाडाैँ । निर्मला हत्याकाण्डका अभियुक्त बनाएर प्रहरीले पेश गरेका दिलिपसिंह विष्टलाई काठमाडौं ल्याएर चरम यातना दिइरहेको परिवारले जनाएको छ । प्रहरीले उनको मानसिक अवस्था परीक्षण गर्न दिल्ली लगेको भने पनि परिवारजनले अर्कै दावी गरेकाे मानसखण्ड डटकमले समाचार प्रकाशित गरेको छ ।
नेपालमा मानसिक अवस्था जाँच्ने प्रविधि र विज्ञहरु नभएपछि निर्मला हत्याकाण्डका अभियुक्त बनाइएका दिलिप विष्टलाई भारतको नयाँ दिल्ली लगिएको भन्ने हल्ला असत्य भएको परिवारले जनाएको छ । दिलिप काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमैं रहेका छन् । दिलिपका परिवारजनले मंगलबार अपरान्ह पनि उनलाई भेटेको मानसखण्डले उल्लेख गरेको छ ।
शिक्षण अस्पतालको तेस्रो तल्लाको सुनसान भागमा रहेको एक कोठामा हत्कडी र नेलमा बेह्रेर दिलिपलाई राखिएको छ । कोठा अँध्यारो छ । प्रहरीले उनलाई आफ्नो घेरामा राखेको छ ।
दिलिप अहिले आफ्नो परिवारका सदस्यलाई समेत चिन्न नसक्ने अवस्थामा छन् । चार दिन अगाडि उनलाई भेट्न गएकी भाउजुलाई समेत उनले चिनेनन् । मंगलबार उनलाई भेटन् गएकी भतिजी दिपा विष्टलाई समेत उनले नचिनेको बताए ।
दिपाले पाँच सय रुपैयाँ दिन खोज्दा ‘म पैसामा बिक्ने मान्छे होइन’ भन्दै पैसा नलिएको दिपाका बुवा तथा दिलिपका दाजु खडकसिंह विष्टले बताएका छन् । त्यो पैसा प्रहरीले राखेको समेत उनले बताए । ‘दिलिपले खल्तीबाट एउटा कागज झिकेर दिपालाई दियो,’ खडक विष्टले भने, ‘तर प्रहरीले कब्जामा लियो ।’ उनका अनुसार कागजमा ‘म निर्दोष हुँ’ भन्ने लेखिएको दिपाले पढ्न सकेकी हुन् ।
मानसिक अवस्था जाँच्न काठमाडौं लगिएका दिलिपलाई अँध्यारो कोठामा राखेर थप यातना दिएको प्रति परिवारजनले बिरोध गरेका छन् । अहिलेसम्म विज्ञ र विशेषज्ञहरुसँग दिलिपको भेट समेत नगराइएको उनीहरुको दावी छ ।
चरम यातना
दिलिपका दाजु खडक विष्टले आफ्नो भाईलाई चरम यातना दिइएको दावी गरेका छन् । ‘उसको मानसिक अवस्था झन् बिग्रेको छ,’ विष्टले भने, ‘काठमाडौं पठाउनुअघि नै उसलाई कुटपिट गरिएको थियो ।’ खडक विष्टका अनुसार हिरासतमा प्रहरीको कुटाईबाट दिलिपको छाती र हातमा चोट लागेको छ । यसबारे छानविन गरिदिन उनले मानवअधिकारकर्मीहरुलाई अनुरोध समेत गरेका छन् । उनले प्रहरीविरुद्ध यातनासम्बन्धी मुद्दा समेत दर्ता गर्ने तयारी गरेका छन् । विष्टले दिलिपलाई दिइएको यातना लुकाउन काठमाडौं लगिएको दावी समेत गरेका छन् ।
साभारः मानसखण्ड डटकमबाट
प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार १६:५१