७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नृत्य निर्देशक भैरवलाई दीर्घ साधना सम्मान

१२ साउन, काठमाडौं ।  नृत्य निर्देशक भैरवबहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५ औँ वार्षिकोत्सवको अवसरमा बुधबार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगद सहित ‘दीर्घ रंग पत्रकारिता सम्मान’ प्राप्त गरे ।

रातोपाटीका कुवेर गिरी ‘रंग पत्रकारिता सम्मान’, सहनाईवादक तथा पञ्चे बाजाका अग्रज आइतबहादुर परियार ‘लोक संस्कृति सम्मान’ बाट सम्मानित भएका थिए । गणतन्त्र नेपालका प्रथम उप–राष्ट्रपति परमानन्द झा, प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसी, निर्देशक नारायण पुरी लगायतले सम्मान पत्र तथा दोसल्लासहित सम्मान प्रदान गरेका थिए ।

विभिन्न जातिका लोक बाजा तथा नृत्यसहित सुरु भएको कार्यक्रममा प्रतिष्ठानका महासचिव नृपध्वज खत्रीले २०६५ मा स्थापना भएको प्रतिष्ठानले मेचीदेखी महाकालीसम्म विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी दिए । पूर्व उपराष्ट्रपति झाले नेपाल लोक सांस्कृतिक प्रतिष्ठानले डेढ दशकदेखि नेपाली कला सस्कृतिको उत्थान गर्दै आएको थाहा पाउँदा आफू निकै हर्षित भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसीले प्रतिष्ठान मार्फत नेपाली लोक कला तथा सस्कृतिलाई विश्वमाझ चिनाउन पाउदा आफूलाई निकै खुशी लागेको बताए । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा संगीतकार सुरेश अधिकारी, कलाकार उत्तम शर्मालाई बधाई तथा सम्मानपत्र, प्रतिष्ठानका सस्थापक अध्यक्ष, गायक तथा संगीतकार शिवराज पौडेल, सस्थापक महासचिव तथा नृत्य निर्देशक दिनेशकुमार लामा, नृत्य निर्देशक शम्भु शाही, नृत्यागंना तथा कलाकार पूर्णिमा श्रेष्ठलाई संस्थागत सम्मान प्रदान गरियो ।

ईभेन्ट निर्देशक निशुकान्त झा, कलाकार कृष्ण रसाल, गायक शिशिर योगीले समेत सम्मान पत्र प्राप्त गरेको कार्यक्रममा वर्माकी नेपाली भाषी गायिका डीना चौलागाईं, नेपाल समाचारपत्रकी रश्मी थापा, वाद्यवादक न्हुच्छे राजा मुनिमर लगायत कदरपत्रबाट सम्माति भए भने विभिन्न संघ सस्था तथा व्यक्तिलाई ‘मायाको चिनो’ प्रदान गरेका थिए ।

गायक शिशिर योगी, कृष्ण रेउले, सुनिता परियारलगायतले गीत प्रस्तुत गरेको कार्यक्रममा भैरवकाली, हुड्केली, लाखे, कौडा, चण्डी लगायतका विभिन्न लोक नृत्य प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : July 28, 2022 at 10:57 am