१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

विमस्टेक शिखर सम्मेलन फलदायीः प्रधानमन्त्री ओली

१८ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेक राष्ट्रहरुको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवैका दृष्टिले फलदायी भएको बताउनु भएको छ । आज सिंहदरबारमा आयोजित विमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “नेपालमा उत्पादित विधुत अन्य देशहरुलाई विक्री गर्न हामीलाई विधुतीय ग्रीड चाहिएको थियो । त्यस विषयमा काम गर्न जल उर्जाको क्षेत्रमा सहयोगको आदान प्रदान गर्ने निर्णय गरेका छौं । ”

त्यस विषयमा भारत र वंगलादेशसँग विशेष रुपमा केन्द्रीत भएर कुराकानी गरेका छौं, जसबाट हामी भारत, वंगलादेश र म्यानमार मात्र होइन सूदुर भविष्यमा थाइल्याण्डसम्म विजुली निर्यात गर्न सक्छौं । नेपाल र नेपालीको हितलाई सर्वोपरी ठानेर विमस्टेकमा छलफल गरी घोषणा पत्र जारी गरिएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो “विमस्टेक होस वा अन्य क्षेत्रीय वा अन्तराष्ट्रिय मञ्च होस हामी न्यायोचित राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर काम गर्छौं । ”

प्रधानमन्त्री ओलीले विमस्टेक सम्मेलनको सफलताका लागि अहोरात्र मेहनत गर्ने परराष्ट्र मन्त्रालय, गृह र सुरक्षा मन्त्रालय अन्तरगतका सुरक्षा निकायलगायत सकारका सबै निकायप्रति धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले नेपाली जनता खासगरी सवारी आवागमन सहेर पनि शिखर सम्मेलन सफल पार्न योगदान गर्ने उपत्यकावासीप्रति आभार प्रकट गर्नु भयो । उहाँले भन्नु भयो, “आमसञ्चार माध्यम, वौध्दिक जगत र आमरुपमा सबैप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । ”

प्रकाशित मिति : September 3, 2018 at 6:25 pm