एक वर्षमा ३०९ वटा नयाँ उद्योग दर्ता, ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी प्रस्ताव
८ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा स्वदेशी र विदेशी लगाीनमा सञ्चालन हुनेगरी कूल ३०९ वटा नयाँ उद्योग दर्ता भएका छन् । योसँगै नेपालमा दर्ता भएका उद्योगको संख्या ८ हजार ७६४ पुगेको छ ।
उद्योग विभागका अनुसार गत वर्ष दर्ता भएका नयाँ उद्योगमा ९१ वटा ठूला, १०८ वटा मझौला र ११० वटा साना रहेका छन् । गतवर्ष दर्ता भएको नयाँ उद्योगमा ३ खर्ब ४३ अर्ब रुपैयाँको लगानी प्रस्ताव भएको विभागले जनाएको छ । नेपालमा हालसम्म दर्ता भएका उद्योगमा प्रस्तावीत लगानी २६ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ ।
पछिल्लो एक वर्षमा दर्ता भएका नयाँ उद्योग सञ्चालनमा आएपछि २८ हजार ५२७ जनाले रोजगारी पाउने विभागले बताएको छ । गतवर्ष विदेशी लगानीमा मात्र २९५ वटा नयाँ उद्योग दर्ता भएका छन् । विदेशी लगानीमा दर्ता भएका नयाँ उद्योगमा ५ वटा ठूला, ७३ वटा मझौला र २१७ वटा साना रहेका छन् । ती उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव गरिएको छ । विदेशी लगानीमा दर्ता भएका उद्योगमा १६ हजार ९०५ जनाले रोजगारी पाउने जनाइएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा स्वदेशी र विदेशी लगानीमा २०३ वटा नयाँ उद्योग दर्ता भएका थिए । ती उद्योगमा १ खर्ब ५६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको थियो । यस वर्ष दर्ता भएका उद्योगमध्ये १८४ वटा विदेशी लगानीका रहेका थिए । ती उद्योगमा ३२ अर्ब ७ करोड विदेशी लगानी प्रस्ताव गरिएको थियो ।
प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १६:३७