८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

खोटाङ र ओखलढुंगाका ज्येष्ठ नागरिकबीच अनुभव आदान प्रदान

७ साउन, खोटाङ । खोटाङ र ओखलढुंगाका ज्येष्ठ नागरिकले अनुभव आदान–प्रदान गरेका छन् । मझुवागढीस्थित कालिका भगवती मन्दिर दर्शनका क्रममा दिक्तेल आइपुगेका ओखलढुंगाका ज्येष्ठ नागरिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ज्येष्ठ नागरिकबीच शनिबार भेटघाटका साथै अनुभव आदान–प्रदान भएको हो । ज्येष्ठ नागरिक संघ खोटाङले कार्यालयको प्रांगणमा ओखलढुंगाका ज्येष्ठ नागरिकको स्वागत तथा भेटघाट कार्यक्रम राखेको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिकको हकहितको विषयमा आ-आफ्नो जिल्लामा भए गरेका कामको बारे दुबै जिल्लाका ज्येष्ठ नागरिकले एकअर्कालाई सुनाएका थिए । आ-आफ्नो संस्थागत काम तथा प्रगतीका बारे अनुभव बाँडेको ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष एवं जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

ज्येष्ठ नागरिकलाई यातायातमा छुट, स्वास्थ्य सेवामा छुट, जीवनभर विवाह नगरी बसेका वृद्धा र श्रीमतीको मृत्यु भएपछि विवाह नगरी बसिरहेका बिधुरलाई सामाजिक सुरक्षा भत्ता माग गर्दैआएको विषयमा चर्चा चलेकाे थियो ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे लगायतको उपस्थिति रहेको थियोे । ओखलढुंगाका ज्येष्ठ नागरिकको यात्रामा सिद्धिचरण नगरपालिकाका उपमेयर बस्नेत लगायत सहभागी थिए । सो टोलीले बिहान कालिका भगवती मन्दीरको दर्शन गरेका छन् ।

प्रकाशित मिति : July 23, 2022 at 6:58 pm