५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

बेत्रावती सन्धिमा राष्ट्रपति विद्यादेवी भण्डारीको चासो, संरक्षणमा ध्यान दिन निर्देशन


६ साउन, नुवाकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा भएको बेत्रावती सन्धिमा चासो राखेकी छिन । शुक्रबार सन्धि भएको स्थानको स्थलगत अवलोकनसँगै राष्ट्रपतिले सन्धिको बारेमा थप चासो प्रकट गरेकी हुन ।

उनले ऐतिहासिक स्थालहरूको संरक्षण हुनुपर्ने भन्दै त्यसका लागि आफूले पनि सहयोगका लागि पहल गर्ने बताइन । राष्ट्रपतिले बेत्रावती सन्धि स्थलको संरक्षणका लागि गर्नुपर्ने काम लिखित रूपमा एक साताभित्रमा राष्ट्रपति कार्यालयमा पठाउन निर्देशन दिएकी छिन । सन्धिको विषयमा थप जानकारी स्थानीय अस्टमान डंगोलले दिएका थिए ।

के हो बेत्रावती सन्धि ?

बेत्रावती सन्धि वि.सं १८४९ (सन् १७९२ )मा बेत्रावती त्रिशुली नदीको किनारमा नेपाल –तिब्बत /चीन युद्ध अन्त्य गर्न भएको नेपाल र भोट बीचको सन्धि हो । युद्धमा चिनियाँ सेना र तिब्बती सेनाले नेपाली सेनालाई पछाडी धकेल्दै गयो। भोटे सेना त्रिशुली वेत्रावती, नुवाकोटसम्म आइपुगेपछि काठमाडौँमा त्रासको वातावरण सिर्जना भयो । नेपालमा त्रासको माहोल सिर्जना भएको र भोटे/चीनियाँ सेना पनि आफ्नो मुकामबाट निकै टाढाको दुरी आइपुगेको हुँदा सन्धिको कुरा उठ्यो र नेपालले चीनसँग वेत्रावतीको सन्धी गर्नुपर्यो।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई उतरगया गाउपालिकाले उत्तरगया क्षेत्रको वारेमा लिखित डकुमेन्ट प्रदान गरेको छ । करिब १ घण्टा ३० मिनेट राष्ट्रपतिले उत्तरगया धामको क्षेत्रमा बिताएको रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले दैनिकीलाइ जानकारी दिए ।

राष्ट्रपतिले त्रिशुली नदीमा स्नान गरेर विष्णु विष्णुपादुकामा पूजा गरेको र माथि राममन्दिरको पनि दर्शन गरेको जानकारी अध्यक्ष अर्यालले दिए । उनले राष्ट्रपतिलाइ गाउँपालिकाको तर्फबाट स्वागत गरिएको जानकारी पनि दिए । राष्ट्रपतिले उत्तरगया क्षेत्रमा पृतिलाई तर्पण तथा भगवान राम मन्दिरमा स्थानीय पुजारी बसन्त लामिछाने मार्फत् पूजा गराएकी थिइन ।

सो अवसरमा रसुवा जिल्लाका जिल्ला समवन्य समितिका अध्यक्षसहितको टोलीलसँग उत्तरगया क्षेत्रको विषयमा जानकारी गराएको थियो । सो अवसरमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण रिसाल पनि सहभागी रहेका थिए ।

राष्ट्रपतिले नुवाकोटमा बनेको पृथ्वी संग्राहलय पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । नेपाली सेनाको संरक्षणमा बनिरहेको पृथ्वी संग्राहलयमा पृथ्वीनारायण साहको नुवाकोटसँग सम्बन्धित सामग्रीहरू राखिने छ । बेत्रावतीमा राष्ट्रपतिको गतिबिधि तस्बीरमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १३:०३