१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा

भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने उक्त च्याम्पियनसिपका लागि यु–२० का मुख्य प्रशिक्षक मेघराज केसीले ३० सदस्यीय खेलाडीबाट अन्तिम टोलीको छनोट गर्नुभएको हो । छनोट हुने खेलाडीको गोलकिपरमा ईश्वर गुरुङ, उनेश चौधरी र जियारथ शेख छन् ।

यसैगरी डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिशेक वाइवा रहेका छन् । मिडफिल्डरमा दीपेश गुरुङ, आशिष राई, सन्दिप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिषरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान छन् भने फरवार्डमा दीपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् ।

उक्त प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का गरी पाँच टोलीको सहभागिता रहेको छ । नेपालले उक्त प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । उक्त खेल यही साउन ९ गते हुनेछ ।

यसैगरी नेपालले आफनो दोस्रो खेल साउन ११ गते श्रीलङ्काको सामना गर्नेछ भने तेस्रो खेल आयोजक भारतसँग खेल्नेछ । नेपालले भारतसँग साउन १५ गते खेल्नेछ । त्यस्तै नेपालले साउन १७ गते बङ्गलादेशको सामना गर्नेछ । प्रतियोगितामा शीर्ष दुई स्थान हात पार्ने टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : July 19, 2022 at 10:27 am