२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

राजुले जिते एसियन शारीरिक सुगठनमा कास्य पदक


२ असार, काठमाडौं । नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत फिटनेस फिजिकमा कास्य पदक प्राप्त गरेका छन् ।

सोमबार टिम ब्यवस्थापक तथा संघका उपाध्यक्ष दिनेश राजभण्डारीले राजुले कास्य पदक प्राप्त गरेको जानकारी गराए । राजुले १७० सेमिसम्मको समूहमा तेस्राे स्थान प्राप्त गर्दै कास्य पदक हात पारेका हुन् ।

२४ राष्ट्र सहभागी सो विधामा राजुले स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्न सफल भएका हुन् । यसअघि पनि नेपाली खेलाडीहरूले एसियन शारीरिक सुगठनमा पदक प्राप्त गरिसकेका छन् ।

यस्तै, सोही प्रतियोगिताका दौरान शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पुर्‍याएबापत विश्व शारीरिक सुगठन तथा फिजिकल फिटनेस महासंघले नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई सम्मान गरेको छ ।

प्रतियोगतामा राजुसहित सुजिता मानन्धर र उमेश राईको पनि सहभागिता थियो । सुजिताले सोमबार आफ्नो फिजिकअन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दै छिन् । यस्तै उमेश राईले बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय निर्णायक एवं संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, नानीकाजी डंगाेल र लक्ष्मण महत पनि माल्दिभ्समा छन् । नेपालले २०२३ मा ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्ने भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार १३:३७