४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विधुत प्राधिकरणले विजुली नदिँदा उदयपुर सिमेन्ट उद्योगको उत्पादन बन्द

२८ असार, उदयपुर । नेपाल विधुत प्राधिकरणले विधुत कटौती गर्दा उदयपुर सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । सरकारी लगानी रहेको यस उद्योगले ६ मेगावाट विधुत चाहिनेमा २ मेगावाटमात्र पाएपछि बन्द भएको हो ।

असार ९ गते लहानमा रहेको विद्युतको टावरमा चट्याङले क्षति पुर्‍याएपछि विद्युत आपूर्ती बन्द भएको र त्यसपछि सोलु करिडोरबाट विद्युत व्यवस्था भए पनि त्यो पर्याप्त भएन। उद्योगलाई ६ मेगावाट विद्युतको आवश्यकता भए पनि सोलु करिडोर मार्फत २ मेगावाट मात्रै विद्युत उपलब्ध भएकाले उत्पादन कार्य रोकिएको हो ।

उद्योगका महाप्रबन्धक गोपी न्यौपानेले आर्थिक वर्षको अन्तिम समयमा विद्युत अभावका कारण लक्ष्य अनुसारको उत्पादन गर्न नसकिएको बताए । उद्योगले चालू आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको थियो । उद्योगले हालसम्म २२ लाख बोरा सिमेन्ट उत्पादन गरेर बजारमा पठाइसकेको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १३:१८