९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

किरात राई खेलकुद संघ केन्द्रीय समितिको अध्यक्षमा सञ्जय

२२ असार, खोटाङ । किरात राई खेलकुद संघ केन्द्रीय कार्य समितिको अध्यक्षमा सञ्जयकुमार राई चयन भएका छन् । खोटाङको दिक्तेलमा बुधबार सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी नेपाल सितोरियो कराँते संघ खोटाङका निवर्तमान अध्यक्ष हुन् ।

१९ सदस्यीय संघको उपाध्यक्षमा रमा राई, नइन्द्र राई, सूर्यकुमारी सुनुवार राई, महासचिवमा मोतीचन्द्र राई, सचिवमा प्रवीण कुलुङ राई र कोषाध्यक्षमा सुमन राई चयन भएका छन् । देउधन राई, कुमारी राई, सार्जन राई, निर्मला राई, विक्रम राई, देबु राई, चन्द्रकुमार राई, डेनिका राई, भुवन राई, मेघराज राई, सुजता राई र नारदमणि राई संघको सदस्यमा चयन भएका छन् ।

अधिवेशनले किरात समुदायका खेलाडीको हकहित, कल्याण र रोजगारीको उचित व्यवस्थाको लागि तीनै तहको सरकारले निसर्त सेवा सुविधा उपलब्ध गराउनुपर्ने, इतिहास, भूगोल, सभ्यता, संस्कृति र पहिचानको आधारमा प्रदेश १ को नामकरण किरात प्रदेश राख्नुपर्ने, किरात राई समुदायको उद्गम स्थल तुवाचुङ जायजुमको उचित संरक्षणको पहल गर्नुपर्ने, किरात समुदायको ऐतिहासिक स्थल खुवालुङमाथि भइरहेको सरकारी अतिक्रमण रोक्नुपर्ने, किरात समुदायको मातृभाषामा पठन–पाठनको व्यवस्था गर्नुपर्ने लगायतका १० बुँदे दिक्तेल घोषणा–पत्र जारी गरेको छ ।

घोषणा–पत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमा किरात राईको सहभागिता वृद्धि गर्नुपर्ने, स्थानीय, प्रदेश तथा संघीय सरकारबाट किरातकालीन ऐतिहासिक गढी, थुम तथा गौँडाहरूको संरक्षण गर्नुपर्ने, किरात समुदायसँग जोडिएका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक मान्यतालाई बचाइ राख्न मौलिक संस्कार र संस्कृति संरक्षणलाई राज्यले आफ्नो दायित्व ठान्नुपर्ने, किराँती पुर्खा रैछाकुलेकालिन हातहतियार धनुकाँडको प्रयोग हुने खेल तथा अन्य किसिमका रैथाने खेलकुदको प्रवर्द्धन गर्नुपर्ने, राष्ट्रिय जनगणनामा किरात राई समुदायको सही थरहरू उल्लेख नभएको तथा कतिपय जातीय समुदायको नाम बिगारिएकोमा तत्काल सच्याइनुपर्ने उल्लेख छ । किरात राई खेलकुद संघको राष्ट्रिय अधिवेशन प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मंगलबार उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : July 6, 2022 at 6:18 pm