९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

पहिरोको जोखिममा फलेनी बस्ती, त्रासले रातभर जाग्राम

२० असार, लमजुङ । बाढीपहिरोले जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेका छन् । दोर्दी गाउँपालिका–७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालय भवन र फलेनी बस्ती जोखिममा परेको स्थानीय निरा घिमिरेले बताइन ।

निरन्तरकाे वर्षाले पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताए । ‘उपल्लो माँझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको छ ।भवनमाथिकाे सडकबाट खसेकाे पहिरो भित्तैसम्म आइपुगेको छ । भवनको पछाडिको भागसम्म ढुङ्गा मुढा र माटो थुप्रिएको छ । अझै पानी परिरहे भवन नै बगाउने जाेखिम छ’, उनले भने, ‘पहिराेले जताततै लेदो थुपारेको र लेदो फाल्दै कार्यालय सञ्चालन गर्दै आइएका छाैं।’ पहिराले नजिकैको महेन्द्र ज्योति प्राविको भवन पनि जोखिममा पारेको छ। उक्त विद्यालयको कक्षाकोठामै भल पस्ने गरेको वडा कार्यालयले जनाएको छ।

वडाध्यक्ष गुरुङले भने, ‘पहिराे निरन्तर गइरहन्छ, लेदो वडा कार्यालयभित्र छिर्छ सफा गर्दै काम गछौँ ।’ वडा कार्यालयको करिब २० मिटरमाथि सडकबाट आएको पहिरो रोक्न ५ असारमा गाउँपालिकाबाट दुई लाख बजेट ल्याएर तारजालीसहित पर्खाल उठाइएको थियो । तर पहिराले थप क्षति पुर्‍याउनुका साथै अन्य दुई स्थानका सडक बगाएकाे छ ।

पहिराेले बस्तीका १० घर पनि जोखिममा पारेका छन् । यही १ असारमा र त्यसपछि बेला–बेलामा खसिरहेकाे पहिराेले कोषलाल गुरुङ, प्रेम गुरुङलगायतकाे घर जोखिममा परेकाे स्थानीय केशव गुरुङले बताए । उनले भने, ‘बर्खा लागेसँगै राम्रोसँग निदाउँन सकेको छैन । पहिरो आउँछ की भनेर रातभर जाग्राम बस्नुपर्छ । उनी मात्र हाेइन गाउँका अधिकांशको पीडा उस्तै छ । उनीहरूले गाउँपालिकाले आफूहरूलाई सुरक्षित ठाउँमा स्थान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : July 4, 2022 at 1:07 pm