१ असार २०८१, शनिबार | Sun Jun 16 2024

आश्वासन देखाएर व्यक्तिको जग्गामा बिर्तामोड नगरपालिकाले फाल्यो, वचन पूरा गरेन


१९ असार, झापा । बिर्तामोड–८ का मधुप्रसाद गौतमको देउनियाँ खोला नजिकैको जग्गामा बिर्तामोड नगरपालिकाले ११ महिना फोहोर फाल्यो । बिर्तामोड बजारबाट उब्जिएको फोहोर उनको करिब अढाई विघा जग्गामा राख्यो । लकडाउनको समयमा नगरपालिकाले उनको जग्गामा फोहोर फालेको थियो ।

त्यसबापत नगरपालिकाले देउनिया खोला तटबन्ध र गौतमलाई प्रति विघा वार्षिक साढे ९ लाख रुपैयाँ दिने प्रतिवद्धता जनायो । स्काभेटर लगेर उनको जग्गा खन्दै फोहोर पुरियो । ‘नगरपालिकाले फोहोर राखेबापत तटबन्ध बनाइदिन्छ भन्ने सहमति भएर फोहोर फाल्न दियौँ । प्रतिबिघा साढे वार्षिक साढे नौ लाख दिने भनेका थिए,’ गौतम भन्छन्, ‘तर, न तटबन्ध नै गरे न त सहमति अनुसार पैसा नै दिए । नगरपालिकाले धोका दियो ।’

नगरपालिकाले फोहोर फालेपछि उनको जग्गा बिग्रिएको छ । जग्गा भित्रभित्रै चिराचिरा परेको छ । ‘जग्गा चिरा परेको छ । अस्पतालको फोहोरले गर्दा जग्गामा उब्जानी हुँदैन । झार आएर जंगल जस्तै भएको छ,’ उनले भने, ‘खेतीयोग्य जमिन बिग्रियो । प्लास्टिक कुहिन सय वर्ष लाग्ने रहेछ । त्यो वेलासम्म धरधर लागेर क्रमस जग्गा बिग्रँदैछ ।’ यहाँ असर गर्ने फोहोर फालिएको उनी बताउँछन् । ‘पूरै असर गर्ने फोहोर रहेछ । यहाँ फोहोरमा जमेको पानी खाँदा मेरा तीनवटा गाई नै मरे,’ उनले भने ।

नगरपालिकाले अहिले अर्कैतिर फोहोर फाल्छ । उनले पटकपटक सहमति पूरा गर्न नगरपालिकालाई आग्रह गरे । तर, कुरै सुनेन् । ‘माननीय एकराज कार्कीले पनि आग्रह गरेपछि मात्र फोहोर फाल्न दिएको थिएँ । सहमति कार्यान्वयन गर भन्दा कसैले सुन्दैन । टोल विकास समितिमा सहमति भएको थियो । अहिले त्यो कागज पनि भेटिएन,’ उनले भने, ‘नगरपालिकाले सम्झौता पछि गर्ने, पछि गर्ने भन्दाभन्दै टार्‍यो ।’

नगरमा नयाँ जनप्रतिनिधि आएका छन् । नयाँ जनप्रतिनिधिले आफूमाथि न्याय गर्ने उनको विश्वास छ । ‘पहिलाको उपप्रमुख प्रमुख हुनु भएको छ । अब देउनिया नदी तटबन्ध र मसँग गरेको सहमति कार्यान्वयन हुने आस लागेको छ,’ उनले भने ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले भने आउने आर्थिक वर्षमा तटबन्धको काम गर्न बजेट छुट्याइने बताइन् । ‘उहाँसँग पहिला भएको सहमतिबारे जानकारी छैन । तर, उहाँले भनेअनुसार तटबन्ध गर्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘अब आउने वर्ष केही बजेट छुट्याउने छौँ ।’

प्रकाशित मिति : १९ असार २०७९, आईतवार ११:१५