१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

शुभद्रा-मदन फाउण्डेसनको खेतमा धान दिवसकाे राैनक

१५ असार, खोटाङ । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयत प्रतिष्थापनमा सहयोग’ भन्ने नारासहित बुधबार धान दिवस मनाइएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा-मदन फाउण्डेसनको प्रयोगशालाको रुपमा प्रयोग भइरहेको खेतमा रोपाई गर्दै दिवस मनाइएको हो । कृषि ज्ञान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र फाउण्डेसनको सहकार्यमा हाते ट्याक्टरले खेत जोतेर हिल्याउँदै धान रोपिएको छ ।

धान दिवसमा सामुहिक रुपमा खेतमा आली लगाउने, छेउकुना खन्ने, फ्याउरी हाल्ने, मल हाल्नेदेखि धान रोप्ने काम गरिएको छ । झरी परिरहँदा धान दिवसमा सहभागी हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्दै रोपाईमा सहभागी भएका छन् । धान दिवसका सहभागीलाई दही, चिउरा, केरा, आँप लगायतका परिकार खुवाइएको छ ।

धान दिवसमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, सोल्माका वडाध्यक्ष ध्रुवबिक्रम राई, शुभद्रा मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राई, जिल्ला न्यायधिवक्ता संगीता न्यौपाने ढुंगेल, कृषि सम्वद्ध कार्यालय, संघसंस्थाका प्रमुख, प्रतिनिधि, कृषिसँग सम्वन्धित छात्रछात्राको सहभागीता थियो ।

असार किसानको मानो खाएर मुरी उब्जाउने समय हो । झरी वर्षा भइरहँदा किसान भने मानो रोपेर मुरी उब्जाउन रोपाईमा व्यस्त छन् । १५ असारलाई धान रोप्ने समयको अर्थमा बुझिने कृषिविज्ञ मदन राईले बताए । ‘असार भनेको धान रोप्ने समय हो । असारमा कतै केही नगरी धान रोप, मानो रोप अनि मुरी उव्जाउ भन्ने गरिन्छ,’ राईले भने, ‘यो बेला घाँस पलाएर प्रशस्त दुध दही हुन्छ । १५ असारमा दही र चिउरा खाने, बेठी लगाउने गरिन्छ ।’

खोटाङका १२ हजार ८ आठ सय ९८ हेक्टरमा धान खेती गरिन्छ । त्यसमध्ये हालसम्म २६ प्रतिशत रोपाई भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए

प्रकाशित मिति : June 29, 2022 at 2:06 pm