९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

आयोजनाहरु अघि नबढ्नुकाे कारणबारे जानकारी गराउन सरकारलाई विकास समितिकाे निर्देशन


१० असार, काठमाडाैं । संसदीय समितिले बिभिन्न आयोजनाहरु अघि बढ्न नसक्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले सहरी विकास तथा भवन निर्माण विभागले यसअघि गर्ने भनिएको आयोजना सुरु हुन नसकेको भन्दै यसको कारणबारे जानकारी गराउन निर्देशन दिएको हो ।

समिति सभापति कल्याणी खड्काले आयोजनाहरु सुरु नै नभएको बिषयमा समितिमा उजुरी परेकाले लामो समयअघि देखिका आयोजनाको काम अघि बढ्न नसक्नुका कारण १५ दिनभित्र समितिलाई जानकारी गराउन निर्देशन दिएको जानकारी दिइन् । त्यस्तै महानगरपालिका र नगरपालिकासँग बाहिरी चक्रपथ आयोजनाका सम्बन्धमा सरोकारवालासंग छलफल गर्ने निर्णय भएको उनले बताइन् । बैठकमा सहरी विकास मन्त्री रामकुमार झाँक्रीले सांसद र मन्त्रीहरुले आफ्नो स्वार्थका आधारमा आयोजनाहरु अघि बढाउन दवाव दिने गरेको बताइन् ।

उनले योजना छनोटको मापदण्ड बनाउनुपर्ने समेत बताइन् । उनले बाहिरी चक्रपथ निर्माण बिभिन्न कारणले अपेक्षित रुपमा अघि बढ्न नसकेको जिकिर गरिन् । उनले आयोजना निर्माणमा अनियमिता देखिए संसदीय छानविन गर्न सुझाव दिइन् ।  त्यस्तै सांसदहरुले बाहिरी चक्रपथ निर्माणको कुरा लामो समय भएपनि सुरु गर्न नसक्नुको कारणबारे जानकारी माग गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार १८:०४