९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको निर्णायक आन्दोलनमा उत्रन अनेरास्ववियुकाे आव्हान

६ असार, काठमाडाैं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । अनेरास्ववियुले सोमबार एक विज्ञप्ति जारी गर्दै मुल्यवृद्वि फिर्ता नलिए त्यसकाविरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रने चेतावनी दिएको हो ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि गरी पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुर्याएकाे छ । निगमले आइतबार राति एक विज्ञप्ति जारी गर्दै पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ ले वृद्धि गरी प्रतिलिटर १९२ रुपैयाँ कायम गरेको छ ।

“पेट्रोलियम पदार्थको मूल्यवृद्धिसंगै गरीब जनताको चुलो बल्ने अवस्था छैन, अतिआवश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिने निश्चित छ । देशमा राज्य छ कि छैन भन्ने अवस्था छ, मुल्य समायोजनको बाहनामा अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु जोडदार माग गर्दछ ।” विज्ञप्तीमा उल्लेख गरीएको छ ।

साथै, अनेरास्ववियुले जनसमुदायलाई र आम नेता कार्यकर्ताहरुलाई मुल्यवृद्वि विरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रन आव्हान समेत गरेको छ ।

प्रकाशित मिति : June 20, 2022 at 1:47 pm