भुटानी शरणार्थी फिर्ती अभियानका नेता राईकाे निधन
५ असार, विराटनगर । भुटानी शरणार्थीका फिर्ता अभियानका नेता डा. भम्पा राईको निधन भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा राईको आज विहान ३ बजे निधन भएको हो ।
७५ वर्षीय राईको शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएपछि अस्पताल भर्ना गरिएको थियो । पाँच दिन अघि राईको हर्नियाको शल्यक्रिया गरिएको थियो ।
भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, समेत रहेका राई दमक नगरपालिकाले उपलब्ध गराएको भाडाको घरमा एक्लै बस्दै आएका थिए ।
भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उनी आफ्नै इच्छाले नेपाल आएका थिए । राई श्रीमती र बुवा-आमा सहित नेपाल आएका थिए । आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो । दुई वर्षअघि उनकी श्रीमती उर्मिलाको पनि निधन भएपछि भम्पा डेरामा एक्लै बस्दै आएका थिए ।
राईलाई गत जेठ १३ देखि दमक नगरपालिकाले दमक-५ मा निःशुल्क बस्ने व्यवस्था गरिदिएको थियो । राईका छोरा-छोरी छैनन् । उनको आइतबार किरात संस्कारअनुसार दमकमा अन्त्येष्टि गर्ने तयारी छ ।
प्रकाशित मिति : ५ असार २०७९, आईतवार ०८:४०